संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।

मन्त्रालयले सोमबार संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको ‘कारागारभित्र मानव अधिकार प्रवद्र्धन तथा कानूनी सचेतना’ कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उनले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गरे । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उनको जोड छ । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुर्याउँछु भनेर लाग्नुपर्छ,’ उनले भने ।

उनले कारागार भित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा गरे । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ वटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ संखुवासभामा पनि कार्यक्रमको आयोजना गरेको बताए । कारागार, कैदी, बैतानिक वकिलको अनुन्याश्रीत सम्बन्ध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

बैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवालाई सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीलाई आफ्ना मुद्दाका बारेमा स्पष्ट रूपमा सूचना पाउनुपर्ने बताए । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने बताए । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने बताए । सानै कक्षादेखि कानूनको कक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमा उपलब्ध हुनुपर्ने माग कैदीबन्दीले गरेका छन् ।