काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।
आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ । ‘निवेदन दिने समय सकियो । अब दलले बुझाएको कागज कानुनअनुसार छ कि छैन ? छानबिन गरेर मात्र दर्ता गर्छौं,’ पौडेलले भने ।
निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भएरनभएको बारे छानबिनको काम चैत २५ सम्म टुङग्याइसक्ने योजना आयोगले बनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्यतालिका रहेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै निर्वाचनमा भाग लिएका थिए ।

