विराटनगर । यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सि.स) पास गर्न नहुने भन्दै आन्दोलन गर्दै आएको अखिल क्रान्तिकारीले सडकमै नमूना जनमत संग्रह गरेको छ । एमसीसी पारित गर्नु उचित की अनुचित भन्ने विषयलाई सडकमै जनमत संग्रह गर्ने निर्णय गरी अखिल क्रान्तिकारीले बुधबार प्रदेश १ का १४ जिल्लामा आन्दोलनकै रुपमा निर्वाचन गरेको थियो ।
बुधबार प्रदेशभर भएको मतदानमा २ हजार ५८८ मत खसेको अखिल क्रान्तिकारीले जनाएको छ । मतगणनाका गर्दा २ हजार ३१० मत एमसीसी पास गर्न नहुनेमा र एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा १८३ मत परेको आयोजकले जनाएको छ । मतदानमा सहभागीमध्ये ८९ प्रतिशतले एमसीसीको विपक्षमा मत दिएको र सात जनाले पक्षमा मतदान गरेका हुन् । निर्वाचनमा झण्डै चार प्रतिशत अर्थात् ९५ मत बदर भएको थियो ।
क्रान्तिकारीले प्रदेश नं. १ का १४ वटै जिल्लामा मतदान केन्द्र तोकेर मतदान गरेको थियो । प्रदेश नंं. १ का मुख्य सहरहरु धरान, विराटनगर, इटहरी, इलामका मुख्य चोकमा मतदान केन्द्र राखेर मतदान गराएको प्रदेश समितिका उपाध्यक्ष खेम रनपहेलीले जानकारी दिए ।
प्रदेशका १४ वटै जिल्लामा मतदान सम्पन्न भएपछि प्रदेश समितिले प्रेश विज्ञप्ति जारी गरी ताजा मतपरिणामको बारेमा जानकारी गराएको हो । निर्वाचनपछि क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आजको सडक जनमत संग्रहको मतपरिणामले यथास्थितिमा एम.सी.सी पास गर्नुहुँदैन भन्ने कुराको पुष्टि भएकाले जनभावना विपरित एम.सि.सी का पक्षमा संसदमा मतदान नगर्न प्रदेश नंं.१ बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनीधिसभा सदस्यलाई हामी आग्रह गर्दछौं ।’
यदि राष्ट्रघाती एमसीसीको पक्षमा उभिए सांसदहरुलाई बहिष्कार गर्ने लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने प्रदेश समितिका अध्यक्ष हेमन्त राई र प्रमुख सचिव जिसस न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

