विराटनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले भोली को संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने बताएका छन्।

आज बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताए।

‘सभामुखसँग मैले आज परामर्श गरेको छु। उहाँसँगको परामर्शपछि भोलिको संसद बैठकमा एमसिसी टेबल हुन्छ भन्नेमा विश्वस्त छु,’ संसदीय दलका नेता देउवालाई उद्धृत गर्दै सांसद गगन थापाले भने।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसिसी संसदमा दर्ता गरेकाले एमाले पनि एमसिसीका पक्षमा उभिने देउवाले बताए।

आफ्नै पार्टीका अध्यक्षको सरकारले संसदमा दर्ता गरेको एमसिसी सम्झौता पास गर्ने षडयन्त्र भइरहेको भनी एमाले प्रमुख सचेतक विशाल भट्टराईले दिएको अभिव्यक्ति उदेकलाग्दो भएको देउवाको भनाइ थियो।

ओली नेतृत्वको सरकारले २०७६ असार एमसिसी सम्झौता संसदमा दर्ता गरेको थियो। ओलीको सरकारमा अहिलेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सहभागी भएकाले उनीहरूले पनि एमसिसीको समर्थन गर्ने देउवाले बताए।

‘उहाँहरूले सरकारमा हुँदा एउटा र विपक्षमा हुँदा अर्को निर्णय गर्नुहुन्न होला भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ सांसद थापाले भने।

-सेतोपाटी