विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनु पर्ने अवस्था आएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानले आज विराटनगरमा गरेको कार्यक्रममा नेता कोइरालाले आफूले पटकपटक न्ययालयलाई विवादमा नल्याउनका लागि निकास दिन सुझाव दिँदा प्रधानन्यायाधीशले नमानेको र अहिलेको समस्या आएको बताए ।

‘मैले धेरै पहिलेनै निकास दिनुपर्छ भनेर प्रधानन्यायाधीशलाई भनेको थिएँ, निकास खोजेर पहिलेनै अघि बढेको भए यो समस्या आउँदैनथ्यो,’ डा. कोइरालाले भने, ‘महाअभियोग जस्तो विषय सेक्रेट नै हुनुपर्छ, हल्ला गरेर अघि बढ्दा झन् समस्या हुने भएकोले यो हठात् आएको भन्ने कुरा होइन ।’ महाअभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसी जस्ता विषयले पनि काम गरेको हुनसक्ने तर्फ उनले संकेत गरे । उनले महाअभियोग टुंगो लाग्न ३–४ महिना लाग्ने बताए । यद्यपि गठबन्धनसँग महाअभियोग पारित गर्ने मत नभएकोले के हुन्छ भन्ने अहिलेनै भन्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

सरकारका प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा यि सबै कुराको महत्व रहेको उनको भनाइ थियो । शक्ति सन्तुलनका लागि निर्धारण गरिएका राज्यका अंकहरुको सञ्चालन सन्तुलित नभएको उनको भनाइ थियो । नेता कोइरालाले भने, ‘प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश जवाफदेही, उत्तरदायी र पारदर्शी छन् कि छैनन् ? उनीहरुले त्यस ढंगले काम गर्न सकेका छन् वा शक्ति सन्तुलनको सहि प्रयोग गरेका छन् ? हामीले हेर्नुपर्ने हुन्छ ।’

एमसीसीका सन्दर्भमा उनले संसदमा पेश गरेर निष्कर्षमा पु¥याउनु पर्ने बताए । एमसीसीलाई संसदबाट पारित गराउने विषयमा पहिले काँग्रेस असहमत भएपनि पछि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले कानुन मन्त्रालय मार्फत यो विषय प्रवेश गराएको पनि उनले बताए । ‘एमसीसीको विषय धेरै गिजोलिइसकेको छ, अब जे गर्ने हो संसदमा छलफल गरेर टुंगो गर्नुपर्छ,’ उनले भने, ‘विदेशी अनुदान लिने विषयमा अर्थमन्त्रालय मात्र अग्रसर हुने तर परराष्ट्र मन्त्रालय अनविज्ञ हुने कुरा आफूलाई चित्त बुझेको छैन ।’ उनले एमसीसी इण्डो प्यासिफिक रणनीतिको सदस्य नभएको स्पष्ट भइसकेको पनि बताए ।

आगामी चुनावसम्म सत्ता गठबन्धन कायम राख्ने विषयमा भने उनले पुरानै अडान दोहो¥याएका छन् । नेता कोइरालाले स्थानीय चुनावमा गठबन्धन बनाएर जाँदा काँग्रेस कमजोर हुने भन्दै प्रतिनिधिसभाको निर्वाचनपछि सरकार बनाउनका लागि भने गठबन्धन गर्नुपर्ने धारणा राखे । यद्यपि आगामी चुनावमा कम्युनिष्टहरू एक ठाउँमा उभिन्न सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘चुनावमा कम्युनिष्टहरु मिल्छन् कि भन्ने डरपनि छ त्यो डर संगठन बलियो बनाएर मात्र हटाउन सकिन्छ । त्यसैले संगठनलाई सुदृढ गरौं । चुनावपछि गठबन्धन बनाउँ,’ उनले भने ।

कार्यक्रममा साहित्यकार तथा समालोचक दधिराज सुवेदीलाई नोना कोइरालाई स्मृति प्रतिष्ठानले सम्मान गरेको थियो । प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले सुवेदीलाई माला, दोसल्ला र सम्मान पत्र अर्पण गरे । त्यसक्रममा समालोचक सुवेदीले नोना कोइरालाको योगदानका बारेमा चर्चा गरेका थिए । २००७ सालको क्रान्तिका बेला हतियार ल्याउने र लुकाउने कामको नेतृत्व गरेको, बहादुरीपन र दूरदृष्टियुक्त महिला नेतृ भएकोले पनि उनलाई सँधै स्मरण गर्नुपर्ने बताए । कोइराला परिवारका पछिल्ला पुस्तामा नोना कोइरालामा जस्तो दूरदृष्टि नदेखिएको उनले बताए ।