विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव ल्याएपछि जवाफी फायर खोल्ने एमालको तयारी अलमलमा परेको छ । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर चुनावमा जान नसकिने बताएका छन् ।

जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ । सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका थिए ।

तर, सांसदहरुले भने चोलेन्द्रलाई बोकेर चुनावमा जान नसकिने बताएका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी बोकेर चुनाव जान नसक्ने बताएका छन् । अधिकांश सांसदले चार जना न्यायाधीशलाई महाभियोग ल्याउन नहुने सुझाव दिएका थिए ।