विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । ‘निरिह, लाचार र अपमान सहेर राप्रपामा बसिरहन सकिँन र अप्रिय निर्णय लिन पुगेँ, यसप्रति म क्षमाप्रार्थी छु, अब म नश्क्रिय भएर शन्यासमा जाने अनुमति मलाई छैन, म एउटा विचार बोकेर हिंडेको व्यक्ति हुँ, त्यसकारण राप्रपा विभाजन नगरीकन नयाँ पार्टी गठन गर्ने उद्देश्यले पार्टीबाट अलग भएको हुँ,’ थापाले भने ।
थापाले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा टुंगोमा पुगिनसकेको पनि बताए । ‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता छ । म पार्टीबाट अलग भएपनि साथीहरुसँग परामर्शमा गएँ, हिंजो मात्रै शुभचिन्तकहरुसँग छलफल गरेँ । उहाँहरुले नयाँ पार्टी गठन गरेर अघि जान मलाई जिम्मेवारी दिनुभएको छ । म यो जिम्मेवारीलाई पुरा गर्ने क्रममा मैले गृहकार्य सुरु गरिसकेको छु र फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानून बमोजिम नयाँ पार्टी दर्ता गर्नेछु भन्ने कुरा जानकारी गराउन चाहन्छु,’ थापाले भने, ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।’

थापाले आफूले नयाँ पार्टी गठन गरेको केही दिनभित्रै निर्वाचन आयोगमा दर्ता भएका केही पार्टीसँग एकता गर्ने तयारी गरेको पनि बताए । तर कुन पार्टीसँगको एकता हो भन्ने विषयमा खुलाएनन् । ‘नयाँ यात्रा सुरु भएको केही दिनभित्रमा नै अन्य केही राजनीतिक दलहरु जो निर्वाचन आयोगमा दर्ता भएका छन् उनीहरुसँग पनि एकीकरण गरेर अगाडि बढ्छु,’ थापाले भने ।
थापाले अहिले पनि राप्रपाको केन्द्रीय कार्यसमितिमा बहुमत रहेको दाबी गरे । ‘महाधिवेशनबाट पनि मेरो पक्षबाट १०६ जनाले जित्नु भएको थियो । तर, म पार्टी फुटाउन चाहिन । अब त पार्टीबाट अलग भएकोले पार्टी फुटाउने प्रश्नै भएन,’ उनले भने, तर, आफ्ना समर्थकहरुले आफ्नो अन्तर आत्मालाई सोधेर अगाडि बढ्न र म प्रति विश्वास छ भने अगाडि आउन नत्र जहाँ रहनुभएको छ त्यही रहन आग्रह गर्दछु ।’
थापाले राजसंस्थाको विषयमा छलफल भइरहेको बताए । उनले नेपालको भू राजनीतिक अवस्था, नेपालको धार्मिक, सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा राजनीतिभन्दा माथि उठेको एउटा साझा संस्थाको रुपमा रहेको राजसंस्था संवैधानिक राजसंस्था हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए । तर, पटकपटकको राजसंस्थाको भूमिकालाई दृष्टिगत गर्दा राजसंस्थाको विषयमा व्यापक प्रश्न उठेको कारण सैद्धान्तिक पक्ष एउटा भएपनि व्यवहारिक पक्षको विषयमा थप छलफल गरेर अगाडि बढ्ने उनले बताए । नयाँ पार्टीले संवैधानिक राजसंस्थाको एजेण्डा बोक्न नसक्ने संकेत गरे ।
थापाले एमसीसी आफैंमा आपत्तीजनक नभएको भन्दै यसबारेमा उठेको गम्भीर आशङ्का र प्रश्नहरुको भने हल गर्नुपर्नेमा जोड दिए । ‘सरकारले एमसीसीलाई अगाडि बढाउँदा गम्भीर खालका आशङ्का र प्रश्नबारे स्पष्ट पारेर दलहरुबीच सहमति कायम गरेर एमसीसी पारित गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यो विशुद्ध आर्थिक सहायताको परियोजना हो, त्यसकारण पारित गरेर अगाडि बढ्नुपर्छ ।’
थापाले आगामि निर्वाचनमा तुलनात्मक रुपले नेकपा एमालेसँग सहकार्य गर्दा सजिलो हुने अवस्था रहेको बताउँदै सोही पार्टीसँग गठबन्धन हुनसक्ने बताए । ‘आगामि निर्वाचनमा यो पार्टीले चुनावमा भाग लिन्छ र विचार मिल्ने राजनीतिक दलहरुसँग सहकार्य गरेर चुनावमा जान्छौं,’ उनले भने, ‘तुलनात्मक रुपले नेकपा एमालेसँगको सहकार्य गर्दा हामीलाई अलिक सजिलो हुन्छ ।’ थापाले राप्रपाको नेतृत्वको विषयमा आफुभित्र धेरै उकुसमुकुसको अवस्था भएपनि छोडिसकेको पार्टीको विषयमा धेरै नबोल्ने बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।