लोड हुँदैछ...

मेनु

ओलीलाई प्रचण्डको फोन: एमसीसीबारे निर्णय लिन आग्रह

ओलीलाई प्रचण्डको फोन: एमसीसीबारे निर्णय लिन आग्रह

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’

ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४र५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी पास गर्नेगरी अगाडि बढेको अवस्था छ ।

बिहीबार मात्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेका थिए । सहायकमन्त्री लुले प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई पालैपालो फोन गरेर एमसीसी पास गर्न दबाब दिएका थिए । उनको दबाबपछि प्रचण्डले ओलीलाई फोन गरेको बुझिएको छ ।

-रातोपाटी

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।