विराटनगर । प्रदेश नम्बर २ को नाम अब ‘मधेस प्रदेश’ भएको छ । प्रदेशसभामा आज भएको मतदानबाट प्रदेशको नाम मधेश राख्नु पर्छ भन्ने प्रस्तावको पक्षमा ८० मत परेको छ । जम्मा ९९ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।
आजै प्रदेशको राजधानी ‘जनकपुरधाम’ कायम गरेको प्रदेश १ को प्रदेशसभा बैठकले आजै नामको पनि टुंगो लगाएको हो ।
बैठकमा पहिलो एजेण्डाको रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्छ भन्ने प्रस्तावमा छलफल भएको थियो । उक्त प्रस्ताव पारित भएसँगै प्रदेश २ को नाम ‘मधेस प्रदेश’ भएको छ ।
यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि नै नाम ‘मधेस’ नै हुनुपर्ने पक्षमा थियो ।
प्रदेश २ मा जसपाको ३९, नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टीको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेको ८, नेकपा माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ प्रदेशसभा सदस्य रहेका छन् ।