विराटनगर । मोरङमा कार्यरत विभिन्न पाँच विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजमा कार्यरत सगरमाथा र विराट गोरखा सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड हटाउन माग गरेका छन् ।

पाँच विद्यार्थी संगठनहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई जानकारी दिँदै पूर्वाञ्चल विश्वविद्यालयलाई लेखेको पत्रमार उक्त सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डहरुले विद्यार्थीहरुलाई लाठीचार्ज गरेको जनाएको छ ।

‘नोबेल मेडिकल कलेजमा शुल्क वृद्धि विरुद्धको संयुक्त विद्यार्थी संगठन र पीडित विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमा विगत केही दिनदेखि निरन्तर जारी रहेको अवगत गराउन चाहन्छौं । यसै क्रममा मिति २०७८÷०९÷२६ गते पीडित विद्यार्थी संगठनले संयुक्त रुपमा शान्तिपूर्ण रिले अनुसनको तयारी गर्दै गर्दा नोबेल मेडिकल कलेजमा कार्यरत सगरमाथा र विराट गोरखा कम्पनीका सेक्युरिटी गार्डहरुले नियोजित रुपमा हाम्रो विद्यार्थी नेताहरुलाई लाठी, ढुंगा प्रहार गरी गम्भीर घाइते बनाइएको कुरा जानकारी गराउन चाहन्छौं,’ पाँचै विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयलाई लेखेको पत्रमा उल्लेख छ, ‘शैक्षिक संस्थाभित्र सेक्युरिटी बर्दीको नाममा गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथी कुटपीट गर्ने विराट गोरखा सेक्युरिटी कम्पनीलाई आजका मितिदेखि पूर्वाञ्चल विश्वविद्यालय भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा निषेध गर्न संयुक्त विद्यार्थी संगठन माग गर्दछ । हाम्रो माग सुनुवाई नभए हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।’

यसरी निवेदन दिने विद्यार्थी संगठनहरुमा नेविसंघका प्रतिनिधि स्वस्तीक बोहरा, अनेरास्वविु पियु विशेष जिल्ला अध्यक्ष विजय पाण्डे, अनेरास्ववियु क्रान्तिकारी पियु पूर्वी जिल्लाका अध्यक्ष अमर मण्डल, अनेरास्ववियू पूवि पूर्वी जिल्ला अध्यक्ष रुपेश दास, समाजवादी विद्यार्थी युनियन प्रदेश १ का सचिव चन्द्र नारायण यादव रहेका छन् ।