काठमाडौं । यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ ८ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको जानकारी दिए । ‘कार्यालयका पाँच जना साथीहरु संक्रमित हुनुभयो, केही केन्द्रीय सदस्यहरुलाई पनि देखियो रे, त्यही भएर माघ ८ गतेसम्मका लागि बैठक स्थगित गरियो,’ ढकालले भने ।

संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गरेका छन् ।

आगामी केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने भनिएको थियो । काठमाडौंमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको आठौं महाधिवेशन अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो ।

आगामी केन्द्रीय समिति बैठकबाट अपुरो केन्द्रीय समितिलाई पनि पूर्णता दिने माओवादीले जनाएको छ ।