विराटनगर । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको आज बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । ललितपुरको एक व्याक्वैटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।
अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।
प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।

