नोबेललाई ठगी मुद्दामा कार्वाही हुने

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजसहितले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै धेरै शुल्क लिएको विषयमा गृह मन्त्रालयले ठगी मुद्दामा कार्वाही चलाउन प्रशासनलाई निर्देशन दिएको छ ।

गृहको निर्देशनपछि अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत् कारबाही गर्ने तयारी प्रशासनले गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत् कारबाही गरिने बताए । गृह मन्त्रालयले अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको जानकारी दिँदै उनले कानुनविपरीत शुल्क लिन नपाइने स्पष्ट पारे ।

गृहको निर्देशनपछि प्रशासनले मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन निर्देशनसहितको पत्राचार गर्ने तयारी गरेको बताइएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ ।

मेडिकल कलेजहरुले अतिरक्ति शुल्क लिएको विषय बाहिर आएपछि गृह मन्त्रालयले मेडिकल कलेज भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै कानुनी कारबाही गर्न निर्देशन दिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर निर्देशन दिएको छ ।

‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुनविपरीत अतिरिक्त शुल्क लिएर नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सोको प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले भनेको छ ।

आइतबार, १८ पुष, २०७८, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर