काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि नेपालले जितेको छ । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेको हो ।
बंगलादेशको ढाकामा आज भएको प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा नेपालले हराएको हो । पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको थियो ।
नेपाल १९–२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४–२४ मा पुर्याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४–२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।
तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित्दै खेलमा २–१ को अग्रता बनायो । १०–११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८–११ को अग्रता बनाउँदै खेल २५–१५ ले सहजै जित्यो ।
तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५–२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ को अवस्थामा पुर्यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५–११ ले जित्दै नेपालले उपाधि जित्यो ।