माओवादी प्रदेश १ अधिवेशन : विराटचोकका संघसंस्थाले सक्दो सहयोग गर्ने

विराटचोक (मोरङ) । नेकपा माओवादी केन्द्रले सुन्दरहरैंचाको विराटचोकमा मंसिर २५ र २६ गते पहिलो प्रदेश अधिवेशन गर्ने भएको छ । अरु राजनीतिक दलले विराटनगरमा प्रदेश अधिवेशन केन्द्रित गरिरहेको बेलामा माओवादी केन्द्रले भने विराटचोकमा अधिवेशन गर्ने भएपछि विराटचोकवासी र विराटचोकका संघसंस्था उत्साही भएका छन् ।

प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा विराटचोकमा बिहीबार साँझ भएको अन्तरक्रियामा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले माओवादी केन्द्रको प्रदेश अधिवेशनलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

इन्द्रपुर जेसीजका अध्यक्ष कृष्ण ओझाले विराटचोकमा प्रदेश अधिवेशन आँट गर्न सक्नु विराटचोकवासीका लागि गौरवको विषय भएको बताए । जेसीज भवनमा हुने सो अधिवेशनले कार्यक्रम स्थलको बारेमा अन्य राजनीतिक दल र संघसंस्थालाई पनि जानकारी लिने र यस्ता अधिवेशन वा भेलाले निरन्तरता पाउन सक्ने बताए । जेसीजले सचिवालय बाहेकका अन्य सबै भवन र सामान अधिवेशनमा प्रयोग गर्न दिने ओझाले जानकारी दिए ।

उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष कृष्ण रिजालले अधिवेशन विराटचोकमा हुने खबरले आफू पहिलेदेखि नै उत्साही भएको बताए । वास बस्नको लागि आवश्यक परेमा उद्योग वाणिज्य संघको हल पनि प्रयोग गर्न दिइने उनले प्रतिबद्धता जनाए । सुरक्षा निकायसँग पनि राम्रो समन्वय गर्न उनले सुझाव दिए ।

सुकुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले स्थानीय होटलसँग पनि समन्वय गरेर अघि बढ्न सुझाव दिए । कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका शिव दाहाल, सुकुना सामुदायिक अस्पतालका अध्यक्ष, लायन्स क्लब इन्द्रपुरका अध्यक्ष रोहित साह, उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका महासचिव नारायण कार्की, व्यवसायी शारदाप्रसाद ढकाल, नगेन्द्र दाहाललगायतले प्रदेश अधिवेशनको सफलताको कामना गर्दै सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुश्यन्त भट्टराईले नगरभित्रका ५७ वटा होटलसँग बास बस्नको लागि समन्वय गरिएको बताए । प्रतिनिधिहरु कार्यक्रमस्थलमै बस्ने, तर बिरामी, ज्येष्ठ प्रतिनिधि र पाहुनालाई ती होटलमा राखिने बताए । भट्टराईका अनुसार होटलमा बसेको तथा खाएको खर्च होटलमा बस्ने व्यक्ति स्वयम्ले तिर्नेछन् । करीब २ सय जना अतिथि र प्रतिनिधिलाई विभिन्न होटल तथा स्थानीय कार्यकर्ताको घरमा बसाइने उनले जानकारी दिए । कार्यक्रम स्थल छेउमा सिटी रिक्सा र अटोको स्टेन राखिने, १ सय जना स्वयम्सेवक डे«ससहित खटिने, उनले बताए । अधिवेशन सम्पन्न भएपछि २७ गते विराटचोक बजारको सफाइ गरिने पनि उनले जानकारी दिए ।

राष्ट्रिय सभाका सांसद गोपी अछामीले विराटनगर र इटहरीभन्दा बाहिर पनि प्रदेश अधिवेशन गर्न सम्भव छ भन्ने सन्देश दिन विराटचोकमा अधिवेशन राखिएको बताए । प्रदेशका १४ जिल्ला तथा उपत्यकाबाट पनि प्रतिनिधि आउने र पूर्वका १ सय ३७ वटै स्थानीय तहमा विराटचोकको आतिथ्यताको सन्देश फैलाउन पनि कार्यक्रम सिद्ध हुने उनले जानकारी दिए । उनका अनुसार सुरक्षा व्यवस्थाका लागि प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरिएको छ । नेकपा माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन मंसिर २५ र २६ गते सुन्दरहरैंचा नगरपालिकाको विराटचोकस्थित जेसीज भवनमा हुने भएको छ ।

शुक्रबार, २४ मंसिर, २०७८, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर