विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरले बिबिएम तेश्रो सेमेस्टरका विद्यार्थीका लागि नाममात्रको प्रयोगशाला उपलब्ध गराएको भन्दै विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् ।
बिबिएममा अध्ययन गर्ने ८८ विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर लगायत प्रयोगशालाका सामग्री नभएको भन्दै विद्यार्थीहरुले विरोधसमेत गरेका छन् ।
मोरङ क्याम्पसले ८८ जना विद्यार्थीलाई बिबिएम अध्यापन गराउने कोटा पाएको र त्यसका लागि प्रयोगशालामा कम्तिमा पनि ४५ थान कम्प्युटर जरुरी हुने विद्यार्थीहरुले बताएका छन् ।
क्याम्पसले भने प्रयोगशालामा १० थान कम्प्युटर उपलब्ध गराएको छ । त्यसमध्ये पनि पाँच थान कम्प्युटर चल्ने अवस्थामै नभएकोले प्रयोगात्मक अध्ययनका लागि विद्यार्थीहरुलाई समस्या भएको छ ।
अघिल्लो वर्ष पनि विद्यार्थीहरुलो प्रयोगात्मक अध्ययनमा प्रयोगशालाको अभाव झेलेका थिए । निकै कष्टले अघिल्लो वर्ष विद्यार्थीहरुले पढेको भन्दै यस पटक पनि क्याम्पस प्रशासनले त्यस तर्फ ध्यान नदिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् । गतवर्ष प्रयोगशाला अभावले राम्ररी अध्ययन गर्न नपाएकै कारण विद्यार्थीहरुले कम अंक प्राप्त गरेको बताइएको छ ।
विद्यार्थीहरुले प्रयोगशालामा कम्प्युटर अभाव भएको र विद्यार्थीहरुको पठनपाठनमा समस्या भएकोले थप कम्प्युटरको प्रवन्ध गर्न विद्यार्थीहरुले आग्रह गर्दा क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले उल्टै विद्यार्थीहरुले जे सक्छौ गर भनेर गैरजिम्मेवार ढंगले जवाफ दिएका थिए ।
प्रयोगशाला अभावमा अध्ययनलाई पूर्णता दिन गाह्रो भएको र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरुले यो वर्षपनि कलेजले राम्रो नतिजा प्राप्त गर्न नसक्ने चिन्ता गरेका छन् ।
कलेजमा अध्ययनरत एक विद्यार्थीले भने ‘सक्नेले ल्यापटप किनेर अध्ययन गर्लान् तर नसक्नेका लागि फेल हुनुको विकल्प छैन ।’
क्याम्पसले प्रयोगशालाको प्रवन्ध नगरेपछि बुधबार विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दीनै गरेका थिए । पछि क्याम्पस प्रशासनले १५ दिनभित्र प्रयोगशालामा आवश्यक कम्प्युटर थप गर्ने र विद्यार्थीहरुको जायज माग सम्बोधन गर्ने बताएपछि तालाबन्दी खुलेको थियो । विद्यार्थीहरुले तालाबन्दी भएको भएपनि तोडफोड भएको भनि सञ्चार माध्ययममा आएका समाचारमा भने कुनै सत्यता नरहेको बताएका थिए ।