एमाले सुनसरीमा तेस्रो व्यक्ति अध्यक्ष बन्ने, बस्नेत र भण्डारीलाई अध्यक्षबाट हटाउने सहमति

इटहरी । अहिले आफैंलाई अध्यक्ष दाबी गरिरहेका दुई जनालाई पदबाट हटाएर तेस्रो व्यक्तिलाई जिम्मेवारी दिने सहमति भएपछि सुनसरी एमालेको विवाद सुल्झेको छ ।

नेकपाकालमा अध्यक्ष रहेका रमेश बस्नेत तत्कालीन माधव–प्रचण्ड समूहतिर लागेपछि ओली पक्षले सुनसरीमा रेवतीरमण भण्डारीलाई पार्टी अध्यक्ष घोषणा गरेको थियो। तर, पार्टीका केन्द्रीय सचिव भीम आचार्यसहितका नेताले १० बुँदे सहमति गरेर माधव नेपालको साथ छाड्ने र एमालेमै रहने निर्णय लिएपछि जिल्ला नेतृत्वमा विवाद थियो । दुवै पक्षले पार्टी कमिटी समानान्तर रूपमा चलाउँदै आएका थिए ।

यसबीचमा सहमति जुटेको र बुधबार इनरुवामा संयुक्त बैठक गर्ने सहमति भएको संस्थापन पक्षका जिल्ला प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिए । पार्टी सचिव एवं १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्यसहितका केन्द्रीय सदस्यबीचको बैठकले विवाद समाधान गर्दै संयुक्त बैठक राख्ने सहमति गरेको हो ।

बैठकले भोलि हुने बैठकमा दुइटा कमिटीका दुवै अध्यक्षलाई बैठकको अध्यक्षता नगराउने र विकल्पमा जाने निर्णय गरेको छ । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री समेत रहेका आचार्यको गृहजिल्लामा अब हुने नयाँ अध्यक्ष ओली पक्षबाटै राख्ने सहमति भएको स्रोतको भनाइ छ ।

‘अब संस्थापन पक्षबाटै नयाँ अध्यक्ष चयन हुनेछ,’ एमाले सुनसरीका एक नेताले भने, ‘१० बुँदे पक्षलाई जिल्ला नेतृत्व हाल नदिने कुरा भएको छ ।’

मङ्गलबार, २३ कार्तिक, २०७८, साँझको ०५:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page