लोड हुँदैछ...

मेनु

इलमका लागि नमुना बनेका छन् गौतम

इलमका लागि नमुना बनेका छन् गौतम

गर्मीयाममा मकैं पोलिरहेको भेटिने जाँगरिलो युवा व्यक्तित्व गौतम राजवंशी हिउँद लागेसँगै भक्का व्यवसायमा भेटिन्छन् । हिउँदको चिसो बढेसँगै पूर्वी तराइ क्षेत्रमा प्रशस्तै पाइने भक्का व्यवसायमा प्रायशः महिला दिदीबहिनीहरू हुने गर्दछन् । तातिएको पानीको बाफमा पाक्ने यो खाद्यपरिकारमा तेल र चटपटा स्वाद दिने कुनै पनि खालको मसला प्रयोग गरिएको हुँदैन । स्वास्थ्यका दृष्टिकोणले असाध्यै राम्रो परिकार मानिन्छ भक्का । युवाउद्यमी भाइ गौतमको दिनको आरम्भ यहिं भक्का उत्पादन र बिक्रीवितरणबाट हुन्छ ।

झापा गापा वडा नं. ३, सिमलवारी, जिल्ला झापा स्थायी घर भई विगत ४/५ वर्षयता मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ लोकतान्त्रिक चौकको फुटपाथ व्यवसायका लागि यहाँ बसोबास गर्दै आएका गौतम चौकको विष्ट हार्डवेयर नजिकै बिहानबिहानै भक्का बनाइरहेका हुन्छन् । सफासुथ्रा पहिरन र वातावरण व्यवस्थापनमा ध्यान दिनुले पनि गौतम भाइको भक्का पसल वरिपरि शहरिया तरुणतन्नेरीहरू अलिक बढी आकर्षित हुने गरेको विष्ट हार्डवेयरका प्रो. उमेश विष्ट बताउछन् । आज बिहान एउटा फरक काम विशेषले यो आलेखकर्ता विष्ट हार्डवेयर नजिकै पुग्खा धानको चामलको शुद्धपिठोको यो परिकारलाई सामान्य कागजमा होइन, बजारिया दुनामा सजाएर ग्राहकलाई सन्तुष्टिपूर्वक खुवाइरहेका भेटिन्छन् ।

कक्षा १० सम्मको पढाइ गरेका हँसिला र फरासिला गौतमले देशबाहिर जाने मन गरेनन् । आमा मञ्जु र बुबा बिदेश राजवंशीका कोखबाट जायजन्म भएका २ भाइ छोरा र १ बहिनी छोरीमध्येका कान्छा गौतम राजवंशी आफ्नो नियमित पेशा–व्यवसायिक मर्मभित्र असाहय, बेसाहारा र निमुखा–निम्छरा मानिसलाई बिना कुनै पैसा खुवाउन पाउँदा हर्षित हुन्छन् ।

७ साढे ७ सय खर्च गर्दा दाउरा, चामल, यसको पिठो, अचारको परिकार आदि तयार हुन्छ । यसलाई लिएर बढीमा ३ घण्टासम्म बस्न सक्यो भने १२/१३ सयसम्मको बिक्री हुन्छ । लगानीबाहेकको कमाइ हो भनेर बुझ्ने हो भने हाजिरा राम्रोसँग उठ्छ । देशबाहिर गए पनि कमाउने यस्तैयस्तै हो । यहाँ कमसेकम कसैको हकडक सहनुपरेन । यसैमा आनन्द आएको छ भनेर प्रतिक्रिया दिन्छन् ।

श्रमबजारमा दैनन्दिन श्रम बेच्नुपर्ने अर्थात् नियमितरुपमा जनमन गरिखाने परिवारको गौतमलाई बाँच्नका लागि पनि अहिलेदेखि नै कमाउनुपर्ने वाध्यताले सताएको थियो । कक्षमा औसत क्षमता राख्ने विद्यार्थी गौतमलाई पढाइ छोड्ने मन थिएन, तर नियमित पठनपाठन गर्ने र यो सँगसँगै आम्दानी गर्ने कुरा सम्भव भएन । बिदेश जानुभन्दा देशभित्रै गरिखाने उद्यमका कैयौं विकल्पमध्ये उनले यो पेशा–व्यवसाय अँगाले । यो उनको रहरको व्यवस्थापन पनि थियो ।

पथरीको फिल्म हल लाइन नजिकै बसोबास गर्दै आएका अल्लारे उमेरका गौतम आफूले अत्यन्तै उँचो निष्ठा र इमानपूर्वक उत्पादन गरेको वस्तुलाई हेलाँपूर्वक बुझिदिने, खाएर दादागिरी शैलीमा उल्टै ठूलो डंका पिट्ने, पैसा नदिने, अलिक भरे दिन्छु भनेर नदिने ग्राहक सम्झेर पीडा हुने बताउछन् ।

उनको उमेर समुहका युवा खाडी देश–देशावरमा छन्, अपवादबाहेक कतिपय युवा आर्यआर्जनका लागि राम्रा–नराम्रा सबैखाले कर्म गर्छन्, हाटबजारदेखि सडक किनारका फुटपाथमा यस्ताखालका उद्यम गर्न संकोच मान्छन्, गर्दैनन्, कतिपय त कुलतमा फसेर समाज र प्रशासनको निगाह छल्दै समेत हिडेका छन् तर गौतम राजवंशीले भने देशभित्रै जीवन जिउने सोंच, कला र सीप विकास सहित यसलाई निर्धक्क आफ्नो कर्म बनाउने निश्चय गरेका छन् । जीवन चलाउन केही न केही पेशा त चाहियो । व्यवसाय भनेको व्यवसाय नै हो । मेरालागि अब यसको विकल्प पनि छैन । समयसमयमा ग्राहकको अपेक्षाअनुसार व्यवसायलाई अवलम्बन गर्ने बताउछन् ।

गौतम भाइ

श्रम, मेहनत र कर्मस्थलको उपस्थितिले कोही पनि ठूलो–सानो हुँदैन भन्ने मान्यतालाई तपाईं अनुवाद गर्दै हुनुहुन्छ, कार्यान्वयन गर्दै हुनुहुन्छ र व्यवहारमा स्थापित गर्दै हुनुहुन्छ । विभेदमाझ फुटपाथमा पनि सहअस्तित्वको जीवन छ, यो देखाउन तपाईं उद्यत हुनुहुन्छ । तपाईंकै उमेर समुहका तमाम तरुणतन्नेरीमाझ तपाईं प्रेरणास्पद पात्र बन्न सक्नुहोस् ! अदक्ष युवामाझ उभिएर उद्यममा आधारित युवा जागरणको ज्वार बन्न सक्नुहोस् ! आज तिहारको दोस्रो दिन, तपाईंको व्यवसायिक जीवनको पूर्णतः सफलताको लागि धेरै–धेरै शुभकामना !

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Yubaraj Baskota YAGYA
November 5, 2021 8:41 PM

परिकल्पनाशीलतामा होइन, यथार्थमा आधारित आलेख असाध्यै राम्रो छ । यस्ता असाधारण उद्यमीलाई महत्त्व दिने प्रयास गर्नुभएको छ, राम्रो छ । धन्यवाद !

प्रतिक्रियाहरू बन्द छन्।