विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत पाउने अहिलेसम्म कुनै सम्भावना छैन ।
एमालेका ४१ सांसदमध्ये १ जना सभामुख र १ जना फरार सूचीमा रहेका कारण भोट दिने सम्भावना छैन । त्यसकारण पनि एमालेका ३९ मत बाहेक अन्य दलहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका छन् ।
सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी एमालेकी सांसद गुलेफुन खातुन फरार छिन् । उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।
सरकरी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन् ।
‘उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘उहाँबारे हामी अलर्ट छौँ।’ उनले भने, ‘प्रहरीले आफ्नो काम गर्छ ।’ खातुन मोरङबाट समानुपातिक सासद हुन्।