प्रदेश १ खेलकुद बोर्ड सदस्य नियुक्ति प्रकरण : श्रेष्ठ र बान्तबालाई हाँसोको पात्र बनाइयो

‘उहाँहरुलाई अपमान गरियो, पहिले नियुक्ति दिने भनेर लगियो, पछि सपथ गर्ने बेलामा लाइनबाट हटाउने काम भयो’

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ को खेलकुद वोर्डको सदस्यमा नियुक्ति गरेको भन्दै एमाले निकट युवा संघका नेताहरु सन्तोषी श्रेष्ठ र सन्तोष बान्तवालाई सामाजिक सञ्जाल फेसबुकमा बधाईको ओइरो लाग्यो ।

उनीहरुलाई आफ्ना समर्थकले विभिन्न फूल बुट्टा भरेर बधाई दिए । फोनमार्फत पनि धेरैले बधाई सन्देश पठाए । तर, उनै श्रेष्ठ र बान्तवालाई अहिलेसम्म खेलकुद बोर्डको सदस्यमा मन्त्रालयले नियुक्ति नगरेको खुलेको छ ।

गत असोज २४ गते बसेको प्रदेश १ मन्त्रीपरिषद बैठकले खेलकुद वोर्डको सदस्य सचिवमा युवा संघका नेता पर्शुराम बस्नेत, उपाध्यक्षमा बाबा मेन्याङ्बो र सदस्यहरुमा भेषराज कार्की, विप्लव घोष, थलु राजभण्डारीलाई नियुक्ति दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २५ गतेका लागि सपथको तामझाम गरियो ।

‘सन्तोषी दिदि र सन्तोष दाजु पनि सपथका लागि तयारी गरेर जानु भएको थियो,’ युवा संघ मोरङका एक कार्यकर्ताले भने, ‘तर, नियुक्ति नै नभए पछि सपथको लाइनमा बसिसक्नु भएका उहाँहरुलाई फर्काइयो ।’ सपथको तयारीसँगै सुटबुटमा पुगेका बान्तबा र झिलिकमिलिक भएर पुगेकी श्रेष्ठलाई नियुक्ति नभएको भनेपछि समर्थक निराश बनेका थिए ।

‘उहाँहरुलाई अपमान गरियो, पहिले नियुक्ति दिने भनेर लगियो, पछि सपथ गर्ने बेलामा लाइनबाट हटाउने काम भयो,’ ति युवाले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘माथिल्लो तहका नेताहरुले उहाँहरुको इज्जत र प्रतिष्ठामाथि आँच पुर्याउने काम गर्यो, हाँसोको पात्र बनाउन खोजियो ।’

यतिसम्मकी श्रेष्ठ र बान्तवालाई फेसबुकमा सदस्य सचिवमा नियुक्ति भएका पर्शुराम बस्नेतसम्मले समेत बधाई दिएका छन् । अहिलेपनि फेसबुकको टाइमलाइनमा श्रेष्ठ र बान्तवालाई दिएका केही बधाईका पोष्टहरु कायम छ । ‘१ नं. सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा बाबा मेन्याङ्बो, सदस्यहरु सन्तोष बान्तवा, शम्भु पौडेल, सन्तोषी श्रेष्ठ, थलु राजभण्डारी, भेषराज कार्की, विप्लव घोष र घनश्याम दाहाललाई चयन गरेकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ बस्नेतले उनीहरुको फोटोसहित फेसबुकमा पोष्ट गरेको स्टाटसमा उल्लेख छ, ‘यो हाम्रो उर्जाशील टिमले १ नम्बर प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् ।’

बस्नेतले बधाई दिएकामध्ये श्रेष्ठ, बान्तवा, पौडेल र दाहाललाई नियुक्ति नगरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक कर्मचारीले भने, ‘बधाई दिन र बधाई खान मन भएकाहरुले फेसबुकमा लेखेका होलान्, यो हाम्रो सरोकारको विषय होइन, नियुक्ति पाएकाहरु भनेको सदस्य सचिवमा पर्शुराम बस्नेत, उपाध्यक्षमा बाबा मेन्याङ्बो र सदस्यमा भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी मात्रै हुन् ।’

खेलकुद क्षेत्रका जानकार एक अगुवाले सदस्य सचिव बस्नेतले आफू नियुक्ति भएसँगै आफ्ना सदस्यहरु को को हुन् भन्नेसम्म जानकारी नराख्नु हास्यास्पद भएको बताए । ‘आफूसहित को–को नियुक्ति हुँदैछन् र को–को भएभन्नेसम्म हेक्का नराख्नेले खेलकुदको विकास कसरी गर्छ,’ हाँस्दै उनले भने, ‘यो काम गर्ने उद्देश्यले आएकै होइन, जतिसक्दो धेरैलाई नियुक्ति दिने र बाँडिचुँडी खानेको समूह हो, त्यो मन्त्रालयको कर्मचारीले पुरा हुन दिएनन् ।’

मुख्यमन्त्रीमा नियुक्त हुँदै अल्पमतमा परेको भीम प्रसाद आचार्य नेतृत्वको सरकारले असोज २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट सदस्य सचिवमा नियुक्त गरेको थियो । आचार्यले कार्तिक ५ गते विश्वासको मत लिँदैछन् । अहिलेसम्म उनले विश्वासको मत पाउने कुनै आधार देखिएको छैन । असोज २५ गते नियुक्ति पाएर कार्तिक ५ गतेसम्म पनि नटिक्ने सरकारको नियुक्तिमा पनि भएको यसखालको राजनीतिप्रति धेरै खेलकर्मीले निराशा व्यक्त गरेका छन् ।

मङ्गलबार, ०२ कार्तिक, २०७८, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर