लोप भए रोटे पिङ र हराउँदै लिङ्गे पिङ

विराटनगर । एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुँदै गएको छ ।

दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिएकोमा अहिले रोटेपिङ हराइसकेको छ । आक्कलझुक्कल मात्र लिङ्गे पिङ देखिन्छ । रोटेपिङ भने मेलाहरुमा मात्र देख्न सकिन्छ ।

गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको छ । दशैंको बेलमा सबैले जमिन छोड्नुपर्छ भन्ने मान्यता रहेकोले पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।

पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भुल्दै गएपछि पिङ देख्नसमेत मुस्किल भएको हो। पछिल्लो पुस्ताका युवायुवतीलाई त्यस्ता पिङ बनाउने कुनै चासो नै नभएकोले धनकुटामा पिङ देख्न छाडिएको चौबिसे गाउँपालिकाका कुमार खत्रीले बताए ।

ग्रामिण क्षेत्रका अधिकांश युवा अत्यधिक विदेशमा छन् । दशैं र तिहारका बेला मात्रै गाउँघरमा जुट्ने उनीहरूलाई पिङ बनाउने फुर्सद नै हुँदैन । अझ पिङको साटो पछिल्लो पुस्तका कतिपय भने जुवा र तासमा रमाउने गरेका छन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाका नारायण कार्कीले पनि यो वर्ष आफ्नो गाउँ र वरपर रोटे पिङ देख्न पाएका छैनन्। सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न पुगेको अनुभव छ, उनीसँग। तीन वर्ष साउदी अरब बसेर यो वर्ष दशैंमा घर आएका उनले गाउँमा पहिलेजस्तो दशैंको रौनक नभएको बताए ।

सामान्यतया लिङ्गेपिङ बाँसका लिङ्गो गाटेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ भने परम्परागत नेपाली रोटेपिङमा चार वटा काठका पिर्का हुन्छन्। रोटेपिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन्। दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ।

पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ। पहिलेका दशैंमा केटाकेटीहरू रमाइलोका लागि पिङमा झुत्तिएका हुन्थे। युवायुवती तथा प्रौढहरू टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्थे।

पहाडतिर परम्परागत रुपमा भीरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गरिने गरेको थियो। तराईमा भने जुटको डोरी र शहरमा प्लास्टिकको डोरी प्रयोग हुने गरेको छ। पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु र त्यसका लागि चाहिने बाबियो घाँससमेत गाउँघरमा पाइन छोडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न मुस्किल परेको स्थानीय बताउँछन्।

पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ। युवापुस्ता दशैं मनाउन घर आए पनि फूलपातीदेखि टीकाको दिनसम्म घरमा बस्ने भएकाले पनि पिङ हाल्न छाडेका हुन्। अर्कोतिर प्रबिधि र इन्टरनेटको पहुँच सबैतिर पुगेकोले युवा पुस्ताले अधिकांश समय त्यसमै विताउने गरेको छ ।

पौराणिक कथाअनुसार भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको हो। पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ।

धार्मिक ग्रन्थका अनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् । कृष्ण–राधा दिनभर पिङ मच्चाउथ्यें ।

बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने मान्यता छ । पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले यसको महत्त्व दर्शाउन ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित भनाइ पनि छ।

मङ्गलबार, २६ असोज, २०७८, बिहानको १०:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर