पाँचथर अस्पताल रातभर रणभूमि जस्तो बनेपछि…

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा बुधबार राति पाँचथर जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ ।

अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ संक्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् । जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो । यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए ।

बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो । आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाइलागेको थियो । रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो ।

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिक कक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन ।

बिहीबार बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो । संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजकीरिया खर्चका लागि रु ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ ।

बिहिबार, २१ असोज, २०७८, साँझको ०६:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर