विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरस्थित मुसहर बस्तीका पुरुषहरुको आम्दानी त्यस क्षेत्रका अन्य समुदायका पुरुषहरुकै हाराहारीमा छ ।
दैनिक आम्दानी राम्रो भएपनि मुसहर बस्तीका प्रायः सबै परिवार गरिबी र विपन्नताको चपेटामा छन् । सम्पतिको नाममा ऐलानी जग्गामा बनेका झुपडी र एकसरो पुराना भाँडाकुडाँ बाहेक उनीहरुसँग केही छैन ।
कालाबञ्जर मुसहर बस्तीका ८० घरमा कसैले हाँस कुखुरा, गाईबस्तु र खसीबाख्रा पालेका छैनन् । नजिकैको जंगलमा गएर दाउरा ल्याउने र बेचेर गुजारा गर्नु उनीहरुको पुख्र्यौली जीवन निर्वाहको आधार हो । तर, अहिले स्थानीय सामुदायिक वनले जथाभावी वन प्रवेश गर्न र रुखबिरुवा काट्ने काममा रोक लगाएपछि उनीहरुको जीवन कष्टकर बनेको छ ।
आम्दानीको हिसाबले उनीहरुको जीवन कष्टकर बन्न नपर्ने हो । ‘यस बस्तीका पुरुषहरुले वरिपरिका अरु बस्तिका युवाले भन्दा बढी कमाइ गर्छन्,’ स्थानीय सामुदायिक वनका अध्यक्ष भोजराज घलेले भने ‘कमाइ गरेअनुसार बचत नगर्ने र अनावश्यक खर्च गर्ने बानीले मुसहर बस्ती सँधै गरीब नै भइरह्यो ।’
मुसहर बस्तीका अधिकांश पुरुषहरु अचेल प्राविधिक काम गर्छन् । धेरैजसोले ट्याक्टर चलाउने काम गर्छन् । केही पुरुषहरु घर बनाउने मिस्त्री छन् । महिलाहरु स्थानीयको खेतीपातीमा ज्यालादारी काम गर्छन् । प्रायः सबै घरका मानिस कुनै न कुनै रुपमा श्रम बेचेर आर्थिक आर्जन गर्न सक्षम छन् । तर, उनीहरु नै गरीब छन् । त्यसको मुख्य कारण उनीहरुमा बचत गर्ने बानीको अभाव भएको स्थानीयहरुको समान बुझाइ छ ।
टोलबाट प्रदेशसभा सदस्य (सांसद)पदमा निर्वाचित उमिता विश्वकर्मा चेतनाका अभावले मुसहरी टोल आर्थिक पछौटेपनको शिकार भएको बताउछिन् । ‘यस टोलमा दैनिक ५ सयदेखि एक हजारभन्दा बढी कमाउने पुरुषहरु छन्, अहिलेको अवस्थामा यो राम्रो कमाइ हो,’ सांसद विश्वकर्माले भनिन् ‘अशिक्षाका कारण चेतनास्तर माथि उठ्न सकेन जसले बचत गर्ने, भविष्यका लागि सोच्ने र सरसफाई आदिमा ध्यान गएन र समाज पछौटे भयो ।’
स्थानीय हरिशंकर सरदार(ऋषिदेव) पनि दैनिक ७ सय भन्दा धेरै कमाउँछन् । त्यस हिसाबले उनको कमाइ मासिक २० हजार भन्दा बढी हुन्छ । तर, उनको एक सुको बचत छैन । सँधै अभावकै जीवन बाँच्नु परेको उनी बताउँछन् । उनको सानो झुपडी घर त छ तर शौचालय छैन । नजिकैको धानखेत त्यो बस्तीको शौचालय हो ।
घर अगाडिबाटै शुद्ध पिउने पानीको पाइप गएको छ तर आर्थिक अभावले उनीहरुले त्यो पानी पिउन पाएका छैनन् । सरसफाइ अभावले रोगब्याधीको सबैभन्दा जोखिममा पनि उनीहरु नै छन् । दैनिक कमाउने, कमाएको पैसाबाट आधाभन्दा धेरै रक्सी किन्न खर्चिने, बाँकी रहेको पैसाले बेलुकी र बिहानको छाक टार्ने उनीहरुको दैनिकी हो । बस्तीका पुरुष मात्र होइन अधिकांश महिला दिनहुँ रक्सी पिउँछन् । घरका दम्पतिले कमाइको ठूलो हिस्सा रक्सीमा खर्चेपछि शिक्षा, स्वास्थ्य र अन्य शिर्षकमा खर्च गर्ने कुरा उनीहरुको सोचभन्दा बाहिर हुने गरेको छ ।
मुसहर बस्तीका अधिकांश बालिकाहरुले १२–१३ वर्षको उमेरमै बिबाह गर्छन् । बाल बिबाह उनीहरुको संस्कार नै बनेको छ । तर, स्थानीय सरकारले पनि त्यसलाई रोक्न आवश्यक पहल र चेतना दिने काम गरेको नपाइएको स्थानीय भोजराज घलेले बताए । बस्तीको नजिकै सामुदायिक स्कुल छ । तर, बस्तीमा अहिलेसम्म एसएलसी पास गर्ने कोही छैनन् । कक्षा ९ सम्म पढ्ने एक जना मात्र छन् ।
बालबालिकाहरु स्कूल जान्छन् । तर, कसैले पनि निरन्तरता दिँदैनन् । कक्षा ५ भन्दा माथि पढ्नेहरु बिरलै भएको सांसद विश्वकर्मा बताउँछिन् । उनले भनिन् ‘यहाँ बालबिबाहको ठूलो समस्या छ, बालबालिकाहरु सानैदेखि बस्तीका साहुहरुको गोठालो गर्छन्, भूमिहीनताको समस्या छ र सबैभन्दा ठूलोकुरा चेतनास्तरकै अभाव छ ।’
प्रदेशसभा सांसद तथा जनता समाजवादी पार्टीका नेता जयराम यादवले कमाएर जोगाउन नजान्दा ऋषिदेवहरु सँधै गरीब रहनुपरेको बताए । उनले भने ‘ऋषिदेव सबै गरीब हुनुपर्छ भन्ने छ ? छैन । तर, किन आर्थिक उन्नति भएन ? त्यसको कारण बचत गर्ने चेतनाको अभाव हो ।’ उनले कमाएको निश्चित अंश नियमित बचत गर्न उनीहरुलाई आग्रह गरे । खाइनखाइ भएपनि बच्चालाई पढाउन उनले आग्रह गरे ।
रक्सीको साटो दूध खान आग्रह गर्दै यादवले भने ‘दूध खाएपछि बुद्धि बढ्छ, चेतना पनि बढ्छ ।’ उनले स्वास्थ्य र सरसफाई तथा शिक्षामा ध्यान दिन आग्रह गर्दै त्यतिकुरामा ध्यान दिए चेतनास्तरमात्र होइन आर्थिक अवस्थामा पनि सुधार आउने सुझाए ।
प्रदेशसभाको सामाजिक विकास समितिका सभापति सरिता थापाले शासन व्यवस्थामा परिवर्तन आएपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको बताइन् । उनले भनिन् ‘जनताका छोराछोरी राष्ट्रप्रमुख बनाउन हामीले सक्यौं । तर, जनताको जीवनस्तर सुधार गर्न सकिएको छैन । छोराछोरी पढाउन नसक्ने, उपचार गर्न नसक्ने अवस्थाका जनता धेरै छन् । हामीले बनाएको कानुनले यो वर्गको जनतालाई छुन सकेको पाइएन त्यसैले राज्यले बराबरी मात्र भनेर होइन विशेष योजनामा सहभागी गराएर निम्नवर्गको आर्थिकस्तर उकास्ने तर्फ योजना बनाउन आवश्यक देख्यौं ।’
गरीब तथा विपन्नहरुको समुदायका बालबालिकाहरु यौन शोषण घटनामा धेरै पर्ने गरेको पाइएको छ । स्थानीय एक महिलाले आफ्नो १४ वर्षे छोरी शोषणमा परेको र आरोपितलाई प्रहरीले पक्राउ गरेपछि एक सातादेखि छोरी हराएको गुनासो गरिन् । विपन्नताले गर्दा न्यायमा पहुँचसमेत नपुगेको उनको गुनासो थियो ।
शुक्रबार संसदीय पत्रकार मञ्च प्रदेश १ ले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरको मुसहरी बस्तीमा सांसदहरुसँग प्रत्यक्ष सम्बाद गर्ने कार्यक्रम गरेको थियो । त्यसक्रममा उनीहरुले आफ्नो समस्या खुलेर राखेका थिए । अधिकांशले बस्ने घर बनाइदिन माग गरे भने धेरैले रोजगारीको सुनिश्चितता नभएको बताए ।
सरकारले गरीबका लागि धेरै कार्यक्रम बनाएको भएपनि सांसदहरुले प्रत्यक्ष अवलोकन गर्दा त्यहाँका जनताले राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा केही नपाएको भेटिएको थियो । बस्तिका कसैले पनि स्वास्थ्य बिमाको सेवा लिएको पाइएन । सांसद लोकप्रसाद संग्रौलाले भने ‘जीवनका लागि सबैभन्दा महत्वपूर्ण पदार्थ पानी र शौचालय नै नभएपछि अरु कुराको अनुमान सहजै लगाउन सकिन्छ । आधारभूत तहका जनताको अवस्था अहिले पनि उस्तै भएकोले सरकारले बढी नै ध्यान दिनुपर्ने देखियो ।’