१ नम्बर प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने शेखर कोइरालाको दाबी

कोइरालाले १ नम्बर प्रदेश र बाग्मती प्रदेशमध्ये एउटा मात्रै नेकपा एकीकृत समाजवादीले पाउने दाबी गरे

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले १ नम्बर प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले १ नम्बर प्रदेश र बाग्मती प्रदेशमध्ये एउटा मात्रै नेकपा एकीकृत समाजवादीले पाउने दाबी गरे । ‘१ नम्बर र बाग्मती प्रदेशमध्ये एउटा प्रदेशमा कांग्रेसको मुख्यमन्त्री हुनुपर्छ, म चाहन्छु १ नम्बर प्रदेश कांग्रेसको भागमा परोस्,’ माधव नेपालले त दुईवटै प्रदेशको मुख्यमन्त्री आफूहरुले पाउने दाबी गरेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले भने, ‘माधव नेपालले भन्ने स्वभाविक हो । मैले पनि त भन्न सक्छु २ वटै चाहिन्छ भनेर । तर, म जिम्मेवार भएर एउटा प्रदेशको मुख्यमन्त्री भन्दै छु । माधव नेपालले गैर जिम्मेवार कुरा गर्नुभएको छ ।’

सरकार चलेको छ र ?

नेता कोइरालाले वर्तमान सरकार नचलेको पनि बताए । सरकार कसरी चलिरहेको छ भन्ने प्रश्नमा उनले सरकार चलेको छ र ? भन्ने प्रतिप्रश्न गरे । ‘सरकार चलेको छ र ? आज ६४ दिन त भयो क्यारे । भोली संविधान दिवस पनि हो । ५ जनाले सरकार चलाउने हो र ? यो सरकार पनि अलोकतान्त्रिक तरिकाले हिंड्दैछ,’ कोइरालाले एमसीसीको विरोध गरे कारबाही गर्छु भन्ने विज्ञप्ति सरकारले जारी गरेको विषयलाई इंगित गर्दै भने, ‘यो विषयमा नबोल्नु भन्ने प्रेस विज्ञप्ति प्रकाशित गरेको छ, हाम्रै नेतृत्वमा सरकार छ । तर, पनि हामी नराम्रो कुराको विरोध गर्छौं ।’
घुमाउरो तरिकाले एमसीसी पारित गर्नुपर्ने बताउँदै कोइरालाले त्यसका लागि राष्ट्रिय सहमति बनाउनु पर्नेमा जोड दिए । ‘सुशील कोइराला, झलनाख खनाल, प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली प्रधानमन्त्री हुँदा एमसीसी पास गर्नुपर्छ भनेका होइनन्,’ कोइरालाले भने, ‘सरकारबाट बाहिर आएपछि हुँदैन भन्ने यो के हो ?’

उनले अरुण तेस्रो परियोजना रोक्ने एमाले भएको भन्दै एमसीसीको विरोध गर्ने बेलामा पनि त्यसतर्फ सोच्नुपर्नेमा जोड दिए । ‘अरुण तेस्रो योजना त्यसबेला एमालेले विरोध गर्दा अवस्था कस्तो आयो ? यो विषयमा सबैले सोच्नु पर्छ,’ कोइरालाले भने, ‘एमसीसीको विषयमा छलफल गरेर सबैले सहमति गरेर अगाडि बढ्नु पर्छ ।’ उनले एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था नदेखिएको पनि बताए ।

कांग्रेस अलोकतान्त्रिक ढंगले चल्न खोज्यो

नेता कोइरालाले अहिलेको कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि अलोकतान्त्रिक ढंगले अगाडि बढ्न खोजेको बताए । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी त हामीले भन्यौ । तर, अलोकतान्त्रिक ढंगले अगाडि जाँदैछ । विधि, विधान सबैलाई मिचरे अगाडि जान खोजिरहेको छ,’ उनले भने, ‘कांग्रेसमा अलोकतान्त्रिक प्रवृत्ती बढेको छ । त्यस्तो प्रवृत्तीविरुद्ध हामी लडेका हौं । सभापति जिको जिल्ला डडेलधुरामा जसरी अधिवेशन सम्पन्न भयो । त्यसले के देखाउँछ भने पुलिस प्रशासनको आड भरोसामा अधिवेशन गराउने तिर गयो भने त्यो अधिवेशन कस्तो होला ? ७५ वर्षको कांग्रेसको इतिहासमा कहिल्यै पनि पुलिस प्रशासन लगाएर अधिवेशन भएको छैन ।’ आगामि अधिवेशनबाट यसखालको नेतृत्व परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।

शनिबार, ०२ असोज, २०७८, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर