आइसिसी विश्वकप लिग–२

यस्तो छ अमेरिकामाथि हाबी हुने नेपालको योजना

विराटनगर । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । अमेरिका नेपाल र ओमानसँग सुरुवाती दुबै खेलमा पराजित भएको छ । अमेरिका नेपालमाथि पहिलो जित निकाल्ने सोचमा छ । पछिल्ला ६ खेलमा अमेरिकाले लगातार हार बेहोरेको छ ।

नेपालले २०२० फेब्रुअरीमा टियु मैदानमा भएको प्रतिस्पर्धामा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । भारतीय मुलका खेलाडीको बाहुल्य भएको अमेरिका दोस्रो खेलमा ओमानसँग पराजित भएपनि कडा चुनौती दिएको थियो । १ सय ७९ रनको विजयी लक्ष्य ओमानले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने सम्भावना छ । युवा अलराउन्डर कुशल मल्लको स्थानमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई मौका दिने सम्भावना छ । कुशलले मौका पाएका चार खेलमा खराब प्रदर्शन गरेका थिए । सुरुवाती तीन खेलमा एक एक रनमा आउट भएका कुशल ओमानविरुद्ध ४ रन मात्र बनाउन सकेका थिए । त्यसैले उनलाई विश्राम दिने सम्भावना बढी छ । शरदको आगमनले मध्यक्रम ब्याटिङ मजबुत बन्ने छ ।

मध्य गतिका बलर विक्रम सोबलाई पनि बेन्चमा राख्ने सम्भावना छ । ओमानसँग नेपालका तीनै मध्यगतिका बलरले खराब प्रदर्शन गरेका थिए । तीन बलरले सुरुवाती १० ओभरमा १ सय ८ रन खर्चेका थिए । सोमपाल कामी, करण केसी र विक्रम सोब तीनैको प्रदर्शन खराब थियो । सोमपाल र करण ब्याटिङ राम्रो गर्ने गर्दछन् ।

अर्कोतर्फ यी दुई खेलाडी पहिलो रोजाईका बलर हुन् । त्यसैले विक्रमलाई बेन्चमा राख्दै युवा तीव्र गतिका गुलशन झालाई डेब्यू दिन सक्छ । गुलशन तीव्र गतिसँगै बाउन्सरका लागि सिपालु छन् । अ‍ोमानविरुद्ध चोटका कारण बलिङ गर्न नसकेका सन्दीप प्रशिक्षणमा जोडिएका छन् ।

ओमानसँग खेलमा आसिफ शेख ९० रनको योगदान दिएका थिए । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा अमेरिकालाई हराउन रोहितले अविजित ६२ रनको इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेलले ८४ रनको योगदान दिएका थिए । यी तीनै युवा खेलाडीबाट नेपालले ब्याटिङमा ठूलो आसा गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ल, विकेटकिपर विनोद भण्डारी र शरद भेषावकरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक र दबाब छ ।

तल्लोक्रममा सोमपाल कामी र करण केसीबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ । करण ठूला सटका लागि परिचित छन् । स्पिनरमा सन्दीप लामिछाने र सुशान भारी रहने छन् । ओमानसँगको खेलमा सन्दीपले बलिङ गरेका थिएनन् । तर उनी पूर्णरुपमा फिट भई सकेका छन् ।
अमेरिका शीर्षक्रमका ब्याट्सम्यान मोनांक पटेलले नेपालविरुद्ध एक सय रनको शतकीय इनिङ खेलेका थिए । भारतीय मुलका मोनांक नेपाललाई पुन घातक बन्न सक्छन् ।

पिएनजीसँग ६ बलमा ६ छक्का सहित १ सय ७३ रनको अविजित शतकीय इनिङ खेलेका जसकरण मल्होत्रा नेपालविरुद्ध पहिलो खेलमा पनि चल्न सकेका थिएनन् । उनी चलेको खण्डमा नेपाललाई जितको लागि कठिन पर्न सक्छ । स्टिभ टेलर, निसर्ग पेटल र करिमा गोरे नेपाललाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । कप्तान सौरभ नेत्रवालकार अमेरिका प्रमुख बलर हुन् ।
नेपाल र अमेरिकाबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल लिग खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले २०१२ को डिभिजन फोरमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । २०१३ को डिभिजन ३ मा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको थियो । २०१५ को टि२० विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । २०१७ को एकदिवसिय अभ्यास खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । समग्रमा नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ ।

शुक्रबार, ०१ असोज, २०७८, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर