एमालेमा १० बुँदेको अपमान : जिम्मेवारी ओलीले खोसे, मञ्चमा नामसमेत लिन छाडे

विराटनगर । दश बुँदे सहमतिका नाममा माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरुको पूर्व जिम्मेवारी लगातार खोसिन थालेको छ । यतिमात्रै होइन माधव समूह त्यागेका नेताहरुको सार्वजनिक रुपमै अपमानसमेत भइरहेको छ ।

सुदुरपश्चिमको पार्टी इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद कायमै रहेका बेला वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले पनि इन्चार्जको जिम्मेवारी नपाउने संकेत देखिएको छ ।

यसको झल्को बिहीबार काठमाडौंमा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो। प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अध्यक्ष ओली पनि सहभागी छन्। कार्यक्रममा प्रदेश कमिटी इन्चार्जको रूपमा बादलले आसन ग्रहण गरेका छन्।

उदघोषकले उनलाई सम्बोधनका लागि बोलाउँदा पनि बागमती प्रदेश कमिटीका इन्चार्ज भनेर बोलाएका छन्। उपाध्यक्ष शाक्य पनि उक्त कार्यक्रममा पुगेकी छन्। उनलाई भने सञ्चालकले बागमती प्रदेशकी मुख्यमन्त्री र एमाले उपाध्यक्षको हैसियतमा आसन ग्रहण गर्न भनिएको थियो।

माधव नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरूले १० बुँदेको कार्यान्वयन हुने र त्यसले एमालेलाई २०७५ जेठ २ मा लैजाने बताउँदै आएका छन्। अध्यक्ष ओली र उनको समूहका अरू नेताले भने एमाले जेठ २ को अवस्थामा पूर्ण रूपमा फर्किन नसक्ने र माओवादी केन्द्रसँगको एकताका आधारमा नेकपाको लिगेसीसहित अघि बढ्ने तर्क गर्दै आएका छन्।

सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश इन्चार्ज को हुने भन्ने विषयको विवाद यही साता सतहमा आयो। नेकपा एमाले र माओवादी केन्द्र एक नहुन्जेल सुदूरपश्चिममा उपाध्यक्ष भीम रावल प्रदेश इन्चार्ज थिए।

गत फागुनमा नेकपाको एकीकरण खारेज भएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको इन्चार्ज माओवादी छोडेर आएका लेखराज भट्टलाई दिएका थिए। त्यतिबेला रावल नेता माधवकुमार नेपालको समूहमा थिए, उनीहरूले त्यो निर्णय मानेका थिएनन्।

१० बुँदे सहमति भएपछि एमाले अब २०७५ जेठ २ मा फर्किएको बताउँदै नेता नेपालको साथ छोडेका रावललाई यही साता अध्यक्ष ओलीले निराश बनाए। ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्ट नै भएको बताएका हुन्।

१० बुँदे सहमतिअनुसार नेकपा एमाले जेठ २ मा फर्किएको भनेर माधव नेपालको साथ छोडेकी अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि अहिले त्यही समस्या परेको छ। नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुनु केही दिनअघि मुख्यमन्त्री बन्न गएकी शाक्यलाई पनि ओलीले बागमती प्रदेश कमिटी इन्चार्जमा फिर्ता गरेका छैनन्। माओवादीबाट आएका भट्ट, बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलाई एमाले स्थायी कमिटी सदस्य बनाइएको छ।

सार्वजनिक रुपमै अपमान

माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरुको अपमान अध्यक्ष केपी ओलीले नै थालेका हुन् । झापामा भएको कार्यकर्ता भेलामा उनले मन्चमा रहेका हरिचरण शिवाकोटी, विष्णु प्रसाइँ लगायतको नामै लिएर सम्बोधन गर्दा नरेश खरेलको भने नाम नै लिएनन् । खरेल ओलीका सहयात्री र लामो जेल जीवन भोगेका नेता हुन् । उनी पनि एमालेमै रहने निर्णय गरेका नेता हुन् ।

यसबाहेक बुधबार बुटवलमा यस्तै अपमानको शिकार भए उपमहासचिव घनश्याम भुसाल । उनीसँगै रहेका ओली पक्षका सबै नेतालाई मन्चमा आसन ग्रहण गराउँदा भुसालको भने उद्घोषकको नामै लिएनन् । ‘सबै नेता कमरेडहरुलाई मन्चमा आसन ग्रहण गरिदिन’ अनुरोध आएपछि भुसाल मन्चमा उक्लिएका थिए ।

बिहिबार, ३१ भदौ, २०७८, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर