नेकपा एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल चयन

विराटननगर । नेकपा एमाले मोरङको आज बसेको पूर्ण जिल्ला कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरेको छ ।

२०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्ष बन्नुभएका विनोद ढकालको अध्यक्षतामा बसेको बैठकले पार्टीको जिल्ला अध्यक्षमा पोखरेललाई चयन गरेको हो ।

बैठकमा जिल्ला अध्यक्ष ढकालले सचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राख्नुभएको थियो । सोही प्रस्तावलाई बैठकले सर्वसहमतिका साथ अनुमोदन गरेको हो ।

यसअघि पार्टीको केन्द्रीय सर्कुलर अनुसार मोरङको सचिवालय वैठकले २०७५ जेठ २ मा फर्किने निर्णयलाई कार्यान्वयन गर्दै विनोद ढकाल अध्यक्ष र ऋषिकेश पोखरेल सचिव रहने निर्णय गरेको थियो । २०७५ जेठ २ को अवस्थामा मोरङ जिल्ला समिति १ सय १६ सदस्यीय थियो । आजको वैठकमा १०७ जनाको उपस्थिति रहेको थियो ।

बैठकमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फेसहित मोरङका प्रदेश समिति सदस्यहरुको पनि उपस्थिति थियो ।

तत्कालिन कार्यसमितिमा रहेका आजको वैठकमा अनुपस्थित रहनेमा टंक भण्डारी, मानबहादुर श्रेष्ठ, मणि दाहाल, काशिम मियाँ, रविन नगरकोटी, उपेन्द्र घिमिरे, चण्डि राई, ओसिम आलम र पारुल क्षेत्री छन् । उनीहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका छन् ।

यसैबीच आजको वैठकले यहि असोज १० गतेभित्र २०७५ जेठ २ मा फर्कने निर्णयलाई सबै स्थानीय तहमा कार्यान्वयन र व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ । यस्तै असोज १५ भित्र सदस्यता नविकरण र व्यवस्थापन गरिसक्ने, सबै जनसंगठनहरुको असोज १० सम्ममा नविकरण तथा व्यवस्थापन गरिसक्ने निर्णय भएको छ ।

यस्तै संघीय राजधानीमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रतिनिधिहरु क्षेत्रगत, समावेशीगत रुपमा जिल्ला कार्यालयले प्रस्ताव गयार गर्ने निर्णय गरेको छ । यसैगरी कोभिड–१९ का कारण लामो समयदेखि अस्तब्यस्त रहेको शैक्षिक क्षेत्रलाई खोपको आवश्यक व्ययवस्थापन गरि तत्काल सुरक्षित सु–सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

बुधबार, ३० भदौ, २०७८, रातीको ०९:०४ बजे

प्रतिक्रिया

  1. हार्दिक बधाई र कार्य सफलताकाे शुभकामना ।
    पदीय जिम्मेवारी समायाेजन साैहार्दताका साथ नै भएकाे हाेला भन्ने कुरामा विश्वस्त छु ।

प्रतिक्रिया:

सम्बन्धित खवर