विराटनगर । प्रदेश १ सरकार गठन भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । नेकपा एमालेको एकल बहुमत दाबी गर्दै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्य तीन सातादेखि तीन सदस्यीय मन्त्रिपरिषदको नेतृत्व गरिरहेका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिने कोसिस गरेपनि उनी सफल भइरहेका छैनन् ।
मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट उनले विगतमा आफ्नै समूहमा रहेका दुई जना सांसदहरुलाई मन्त्रिपरिषद्मा सामेल गराए । त्यसपछि विभाजनको पक्षमा उभिएका सांसदहरुलाई फकाउने उद्देश्यले भदौ २३ गतेसम्म मन्त्रिपरिषद बिस्तार नगरी पर्खेर बसे । त्यस कार्यमा उनलाई सफलता हात परेन । नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यहरु नेकपा एकीकृत समाजवादी तर्फ लागे । ५१ जना सांसद सहित बहुमतमा भएको नेकपा एमाले १० जनाले पार्टी छोडेपछि अल्पमतमा प¥यो । त्यसपछि उनलाई मन्त्रिपरिषद् बिस्तार गर्न झन् कठिन भयो । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले भूतले खाजा खाने बेलामा मन्त्री बन्दिन भनेर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई जवाफ दिएपछि प्रदेश १ मा पनि त्यस्तै अवस्था आउने डरले मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद बिस्तार गर्न अझै केही समय पर्खिने योजना बनाएको देखिन्छ ।
मन्त्रिपरिषद बिस्तार गर्न के विषयले जटिलता उत्पन्न गरेको छ भन्ने विषयमा सत्तारुढ दल र स्वयं मुख्यमन्त्रीले पनि मुख खोलेका छैनन् । मन्त्रिपरिषद बिस्तारका विषयमा प्रश्न गर्दा मुख्यमन्त्री आचार्य खासै खुलेनन् । ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ’ भन्ने छोटो जवाफ दिए ।
मन्त्री परिषदलाई किन पूर्णता दिनका लागि के अप्ठ्यारो छ भन्ने प्रश्नको जवाफमा उनले भने ‘समयक्रमसँगै छिटै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’ छोटो समयका लागि सांसदहरु मन्त्री बन्न तयार नभएर हो भन्ने प्रश्नमा उनले ‘छिट्टै हुन्छ ’ भन्ने जवाफले नै काम चलाए ।
मन्त्रिपरिषद् विस्तारको विषयमा स्पष्ट जवाफ दिन नचाहेका मुख्यमन्त्री आचार्यले कहिले विश्वासको मत लिनुहुन्छ भन्ने प्रश्नको जवाफ पनि स्पष्ट दिन चाहेनन् । उनले भने ‘यो पनि छिट्टै हुन्छ ।’ प्रदेश १ सरकारले ढिलोमा असोज २४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसैले पनि उनलाई मन्त्रिपरिषद बिस्तार गर्ने र विश्वासको मत लिनका लागि सीमित समय मात्र बाँकी छ ।
मुख्यमन्त्री आचार्य सरकारले विश्वासको मत पाउनेमा भने आशावादी देखिए । उनले भने, ‘यो काम गर्ने सरकार हो, काम गर्नका लागि गठन भएको सरकारलाई विश्वासको मत नदिएर कसलाई दिन्छन् र ?।’