विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए ।
बक्तृत्वकला प्रतियोगिताका द्वितिय, तृतीय र सान्तवनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार सहभागिहरुवीच भदौ २७ गते अनलाईन मार्फत प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिलेनै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताउनुभयो । कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैवीच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो । भद्रपुर नगरपालिकालाई गत बर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो ।