विराटनगर । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खलाको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले पराजित गरेको छ ।
पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो । शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।
रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले । अन्त्यतिर सोमपाल कामीले २२ रन बनाउँदै नेपाललाई लक्ष्यसम्म पु–याए । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।