काठमाडौं । अञ्जन बिष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी नतिजा निकालेको छ ।
विपक्षी रक्षक र गोलकिपरबीच तालमेल नमिल्दाको फाइदा उठाउँदै अञ्जनले मध्यान्तर हुन नौं मिनेट बाँकी रहँदा खाली पोष्टमा गोल गर्दै नेपालको खाता खोलेका थिए ।
आफ्नै सहयात्रीले दिएको ब्याक पास भारतीय गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अञ्जनले छरितो पारामा अगाडि बढेर बल चलाखीपूर्ण ढैगले विपक्षी पोस्टमा छिराएका थिए ।
तर अनिरुद्र थापाले ६०औं मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काएका थिए । नेपालले त्यसपछि पनि विपक्षी पोस्टमा लगातार दबाब सिर्जना गरिरहे पनि गोल भने गर्न नसक्दा बराबरीमा सिमित हुनुपर्यो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रंगशालामा हुनेछ ।
भारतले नेपालमाथि जित हासिल गर्दै वरियताक्रममा सुधार गर्ने उद्देश्यसहित नेपाल भ्रमण गरेको थियो । तर नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न त सफल भएन नै, बरु आफ्नै गल्तीमा विर्सनलायक गोल खाएर मध्यान्तर निम्त्याउन बाध्य भयो ।
अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल भएको हो ।
नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो ।