नेपाल–भारत मैत्रीपूर्ण खेल आज

नेपाल र भारत आज आमने–सामने हुँदा युवा खेलाडीको परीक्षा

विराटनगर । दक्षिण एसियाली फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारत बिहीबार दशरथ रंगशालामा ६ वर्षपछि मैत्रीपूर्ण खेलमा उत्रँदैछन् । सन् २०१७ पछि पहिलोपटक आमने–सामाने हुन लागेका यी दुई टोलीले आज साँझ ५ः३० बजेपछि दशरथ रंगशालामा प्रतिष्पर्धा गर्नेछन् ।

दुवै टोली अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको क्रममा छन् । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसबेला भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

नेपाल र भारत दुवैतर्फ त्यस खेलपछि टोलीमा धेरै परिवर्तन भएका छन् । भारतका तीन खेलाडीले मात्र यसअघि नेपालविरुद्ध खेलेको अनुभव छ । नेपाली टोलीमा भने आधा दर्जन खेलाडीसँग त्यो अनुभव छ । प्रशिक्षक अलमुताइरीले पहिलो पटक घरेलु भूमिमा खेलाउँदै छन् । त्यसैले पनि युवा जोशमा खेलको ध्यान हुनेछ ।

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । खेलको अघिल्लो दिन बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । यो दुई खेल सबैले यो खेल हेर्ने छन् ।’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली टोली भारतविरुद्धको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार रहेको बताएका छन् । किरणले दुई महिनादेखि टोली तयारीमा रहेकोले शारीरिक रुपमा पनि राम्रो अवस्थामा रहेको बताउँदै घरेलु मैदानमा भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए ।

‘यो हाम्रो लागि राम्रो मौका हो । साफ खेल्नुअघि हाम्रो बलियो र कमजोर पक्ष थाहा पाउन यसले मद्दत गर्नेछ ।’ किरणले भने, ‘खेल फिफा डेटमा हुन लागेको छ । वरीयतामा असर गर्ने भएर पनि हाम्रो लागि यो जरुरी खेल हो । इज्जतका लागि खेल्छौं । ‘नतिजा आफ्नो ठाँउमा छ । खेल पक्कैपनि निकै प्रतिस्पर्धात्मक हुने छ ।’

भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाचले घरेलु टोली नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै धन्यवाद दिएका छन् । उनले आउने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय प्रशिक्षकले पछिल्लो समय नेपालले प्रदर्शनका सुधार गरिरहेको र आफ्नो नेपाली समकक्षी प्रशिक्षकले टोलीलाई राम्रो गरिरहेको बताए । उनले भने, ‘नेपाली टोलीले रक्षापक्तिमा निकै राम्रो गरेको छ । युवा खेलाडीलाई पनि मौका दिइरहेको छ । हामीले पनि राम्रो तयारी गर्न पाएका छैनौं,’ उनले भने, ‘यसले हाम्रो साफ च्याम्पियनसिपको तयारीमा मद्दत पुग्नेछ ।’

प्रशिक्षक स्टिमाच टोलीमा रहेका युवा खेलाडीलाई पनि अवसर दिने बताए । ‘हामीसँग टोलीमा युवा खेलाडी पनि छन् । सम्भवत सेरीटन फर्नान्डेसले दोस्रो खेलमा डेब्यु गर्नेछन् । उनी टोलीमा भर्खर आएकाले पनि पहिलो खेल नखेल्न सक्छन् । गोलरक्षक धिरज पनि युवा नै छन् । उनलाई हामीले भविष्यको रुपमा लिएका छौं,’ स्टिमाचले भने ।

भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधै कठिन हुने बताएका छन् । ‘हामीले पछिल्लो पटक सन् २०१५ मा विश्वकप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन ।’ पछिल्लो पटक खेलेको भन्दा टोलीमा केहि परिवर्तन देखिएपनि नेपाल जहिले चुनौतीपूर्ण टोली हो ।

‘नेपाली टोलीले बाहिर र घरेलु मैदानमा खेल्दा फरक हुन्छ’ उनले भने, ‘त्यसमा पनि घरेलु मैदानमा खेल्दा उनीहरु फरक हुन्छन् । त्यसैले खेल सजिलो हुनेछैन । तीव्र प्रतिस्पर्धात्मक खेल हुनेछ ।’

सुनिलले मैत्रीपूर्ण खेल आयोजना र व्यवस्थापनका लागि एन्फा र नेपाल सरकारलाई पुनः धन्यवाद दिए । उनले नेपालमा आफ्नो मामाघर र पुर्खा रहेका कारण पनि भावनात्मक रुपमा केहि नजिक रहेको स्वीकारे । तर खेल मैदानमा पसेपछि भने खेलमा त्यसले असर नगर्ने उनको बुझाइ छ ।

नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाइै प्रवेश दिइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

दशरथ रंगशालामा बुधबार साँझ ५ः३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ ।

नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डरः सुरज ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्डः मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम

गोलकिपरः अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डरः प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डरः ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्डः मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

बिहिबार, १७ भदौ, २०७८, बिहानको ११:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर