विराटनगर । चार महिनाअगाडि भव्य रूपमा सम्पन्न भएको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ८ लाख २ हजार ३ सय ६२ रूपैयाँ नाफा भएको छ ।
विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आज पत्रकार सम्मेलन गरि रात्रीकालिन विराट गोल्डकपमा १ करोड ४७ लाख ७४ हजार ५ सय ९४ रुपैयाँ कुल आम्दानी भएकोमा १ करोड ३९ लाख ७२ हजार २ सय ३१ रूपैयाँ खर्च भएको जानकारी गराएको हो ।
प्रतियोगिता संचालनका लागि विराटनगर महानगरपालिकाले १२ लाख, समाजिक विकास मन्त्रालयले १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग आएको विराट गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिए । यस्तै मुख्य प्रयोजकहरुबाट २० लाख, प्रयोजकहरुबाट १० लाख, सहप्रयोजकहरुबाट ५० हजार प्राप्त भएको थियो भने टिकट बिक्रीबाट ५९ लाख ७६ हजार १ सय आम्दानी भएको संयोजक शाहले जानकारी दिए । प्रदेश सरकारबाट ४० लाख रुपैयाँ दिने घोषणा गरेको भएपनि प्रतियोगिता सम्पन्न भएपछि १५ लाख रुपैयाँ मात्र सहयोग आएको आयोजकले जनाएको छ ।
विराटनगरस्थित सहिद रंगशालमा फ्लडलाइट जडान गरि २०७७ चैत २६ देखि ०७८ वैशाख ४ गतेसम्म भव्य रूपमा विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको थियो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल काठमाडांै बिजेता भएको थियो भने उपबिजेता पन्जाब पुलिस जलन्धर भारत बनेको थियो ।
प्रतियोगिताको बिजेताले ट्रफिसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपबिजेताले ७ लाख ५१ हजार रुपैयाँ राशी रहेको थियो । युवा व्यवसायी शाह विराट गोल्डकपको प्रतियोगिताको आयोजक समितिको संयोजक बनेपछि पहिलो पटक फ्ल्डलाइट जडान गरि रात्रीकालिन प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो ।
विराटनगरको ऐतिहासिक महत्व बोकेको गोल्डकपलाई आगामी दिनमा पनि निरन्ता दिनुपर्ने शाहले बताए । ‘सबैको साथ सहयोगले यसपटकको रात्रीकालिन विराट गोल्डकप भव्य रूपमा सम्पन्न भयो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यो सफलतामा प्राप्त गर्न सबैको साथ सहयोग र हौसलाले मात्र सम्पन्न हुन पुग्यो ।’ विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाले आगामी दिनमा पनि विराट गोल्डकपलाई निरन्ता दिएर ट्रष्ट अगाडि बढ्ने बताए ।