विराटनगर । एमबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको लेखा शाखामा ताला लगाएका छन् । विद्यार्थीको माग सम्बोधन गर्न क्याम्पस प्रशासनले मौनता देखाएको भन्दै अनिश्चित कालमा लागि तालाबन्दी गर्न बाध्य भएको उनीहरूले बताएका छन् ।
क्याम्पस प्रशासनले विद्यार्थीको भविष्यप्रति गरेको खेलवाड, विधि र प्रक्रिया मिचेर चालेको कदमसँगै विगतमा गरिएका सहमति सम्झौताहरूको कार्यान्वयनमा देखाएको ढिलासुस्ति माथि निरन्तर खबरदारी गरिरहने उनीहरूले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘गत साउन ३२ गते क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुसँगको छलफल पश्चात विद्यमान महामारीको अवस्थामा अनलाइन कक्षा संचालन, छात्रवृत्ति वितरण र अध्ययन शुल्क जस्ता विभिन्न समस्याको पहिचान गरि प्रशासनसँग वार्ताको माध्यमबाट निकास निकाल्ने उद्देश्यका साथ ज्ञापनपत्र बुझाएकोमा प्रशासनले देखाएको मौनताप्रति हाम्रो निरन्तर ध्यानाकर्षण भएको छ ।’