विराटनगर । मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा विरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियालाई म्याद थप गरि अनुसन्धान सुरू गरेका छौं ।’
कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘मध्यराती अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको रहेछ,’ मेसु दासले भने, ‘आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं । प्रहरीले थप कारवाही गर्नेछ ।’ पक्राउ परेका बानियाले गाइनो वाडको वेटिङ रुममा पुगेर विरामीको सम्वेदनसिल अङ्गमा छोएको आरोप छ ।
पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । तीन जना विरामीको स्वास्थ्य परीक्षण गर्न थालेपछि नक्कली डाक्टरको शंका लागेको थियो । विरामीको स्वास्थ्य परीक्षण गर्दा पञ्जासमेत नलगाइ उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको थियो ।
यसअघि पनि नक्कली डाक्टरको भेषमा कोशीमा विरामी परीक्षण गर्दा एक जना पक्राउ परेका थिए । अस्पताल सुरक्षा व्यवस्था फितलो रहँदा बेला–बेला कोशी अस्पतालमा यस्तो गतिविधिहरू हुने गरेको छ । अस्पताल प्रशासनले अस्पतालभित्र सुरक्षा गार्डको व्यवस्था गर्न नसक्दा विरामीहरूलाई अभद्र व्यवहार हुने गरेको कार्यरत चिकित्सकहरू बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।