विराटनगर । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री उषाकला राईलाई भेटेर क्युपेक नेपालले बिहीबार यस्तो माग गरेको हो ।
निर्माण क्षेत्रलगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न पनि संस्थाले माग गरेको छ । ७ वटै प्रदेशमा एकैपटक ज्ञापनपत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सरकारलाई बुझाएको क्युपेक नेपाल प्रदेश १ प्रमुख तथा केन्द्रीय सचिव मुक्तिनाथ गिरीले जानकारी दिए ।
मन्त्रीसमक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशित गर्न पनि माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमीकको हकहितको पक्षमा आफु पनि रहेको बताउँदै श्रमिक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाएकी छन् ।

