झापा । कोरोना भाइरसबाट सताइएका हजारौं संक्रमित पिसिआर परीक्षणबारेको गलत बुझाइले दुःख पाउन बाध्य भइरहेका छन् । शरीरमा कुनै समस्या नभए पनि कोरोनाको ‘नेगेटिभ’ स्वरुप कुर्ने क्रममा धेरै संक्रमित लामो समय तनाव झेल्न बाध्य भएका छन् ।
विज्ञहरुका अनुसार यदि शरीरमा कुनै समस्या छैन भने कोरोनाको रिपोर्ट पोजिटिभ आउँदैमा आत्तिनु पर्ने कुनै जरुरी छैन । तर, संक्रमितको मन विज्ञको यो तर्कमा सहमत हुनै नसक्दा उनीहरु लामो समय दुःख पाइरहेका छन् । यसबाट संक्रमित, परिवार र छिमेकी पनि तनाव झेल्न बाध्य छन् ।
झापा मेचीनगर–१५ का सुरेन्द्र कोइरालाले बैशाख १५ मा पहिलोपटक पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । उनी आइसोलेट भएर घरैमा बसे । जेठ २ गते फेरि पिसिआर गराउँदा पुनः पोजिटिभ आयो । १० गते जाँच गराउँदा पनि पोजिटिभ नै आयो । ‘म पूरै ३७ दिन आइसोलेशनमा बसें, उनले भने ‘तर, डाक्टरले आइसोलेशनमा बस्न पर्दैन भनेपछि आइसोलेशन तोडें, फेरि जाँच गराइनँ । अहिले कुनै समस्या छैन ।’
विराटनगरका पत्रकार सुवास कार्की पनि लामो समय आइसोलेशनमा रहे । चौथोपटकसम्म पोजिटिभ आउँदा उनी हैरान बनेका थिए । ‘३१ दिनमा जाँच गराउँदा पनि पोजिटिभ आयो’ कार्कीले भने ‘समस्या त केही नै थिएन । तर, रिपोर्ट पोजिटिभ आएपछि काममा निस्कने आँट नआउँदो रहेछ ।’
यसरी पिसिआरको चक्करमा लागेर दुःख पाउने धेरै छन् । महिना दिनभन्दा पनि बढी समयदेखि कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएर मानसिक तनाव ब्यहोरिरहेका संक्रमित धेरै छन् ।
चिकित्सक र विज्ञहरु यसो गर्न जरुरी नरहेको बताउँछन् ।
विशेषज्ञहरुका अनुसार कुनै लक्षण छैन र समस्या पनि छैन भने यसो गर्न आवश्यक छैन ।
विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रका डा. डेनप्रसाद आचार्य यसरी तनाव झेल्ने संक्रमितको संख्या एकदमै धेरै छ । ‘विरामीलाई कुनै लक्षण हुँदैन, अब घर जानुस् भन्यो भने पिसिआर नेगेटिभ खोज्नुहुन्छ उहाँहरु’, डा. आचार्य भन्छन् ‘यसले उपचारको चेनमा पनि समस्या ल्याएको छ ।’ लक्षण बेगरका विरामीले बेड ओगट्ने र समस्यामा परेकाहरुले नपाउने समस्या यसले निम्त्याउने खतरा रहेको उनी बताउँछन् । ‘धेरैको दुई महिनासम्म पोजिटीभ आएको भेटेका छौं’, उनले भने ‘भाइरस र पिसिआरबारे हामीले सम्झाउँदा पनि नमानेर धेरै संक्रमित आत्तिने र अन्य समस्या आउने देखिएको छ ।’
भाइरोलोजिष्ट डा. लुना भट्ट शर्माका अनुसार यसरी बारम्बार पिसिआर जाँच गर्नुपर्दैन, कुनै समस्या नभए १४ दिनभन्दा बढी आइसोलेट बन्नु पनि पर्दैन । ‘पिसिआरले मान्छेको शरीरमा भाइरस छ कि छैन भन्ने मात्रै पत्ता लगाउने हो, भाइरस ज्यूँदै छ कि मरेको छ, त्यसको संक्रमणशीलता पिसिआरले नाप्दैन’, डा. भट्टले भनिन् ‘त्यसैले लक्षण हुनुभएन । १४ दिनपछि समस्या नभए आइसोलेशन बस्न पर्दैन, पुनः पिसिआर जाँच पनि गर्नुपर्दैन ।’
उनका अनुसार विश्वव्यापी रुपमा भएका अध्ययनहरुका अनुसार कोरोना भाइरसको संक्रमणशीलताको निश्चित अवधि हुन्छ । ‘तिनै अध्ययनहरुका आधारमा १४ दिनको समय भनिएको हो’, उनले थपिन् ‘त्यसपछि यसको अरुलाई सार्ने समस्या हुँदैन । अध्ययनहरुले त्यही देखाएको छ । त्यसैले १४ दिनपछि आइसोलेशनबाट निस्के हुन्छ भनिएको हो ।’
जापानको ओसाका सिटी मेडिकल स्कुलबाट भाइरोलोजीमा विद्यावारिधी डा. भट्टका अनुसार मानव शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि त्यो तीव्र रुपमा फैलिन्छ । ‘त्यसक्रममा भाइरसका साना टुक्राहरु पनि पनि कोष–कोषमा पुगेका हुनसक्छन्’, डा. भट्टको भनाइ छ ‘लक्षणबेगरका संक्रमितलाई १४ दिनपछि देखिने पिसिआर पोजिटिभ भाइरसको त्यही साना टुक्राहरुका कारण हो, जसको संक्रमणशीलता पनि हुँदैन । संक्रमितलाई पनि कुनै असर हुँदैन ।’
नेपालकै चर्चित संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी लक्षण बेगरका संक्रमितले बारम्बार पिसिआर जाँच गराउने कार्यलाई अनावश्यक तनावको संज्ञा दिन्छन् । उनका अनुसार लक्षण नभएका संक्रमितले १० दिन मात्रै आइसोलेशनमा बसे हुन्छ । ११ औं दिन पूरा भएपछि निस्के हुन्छ । लक्षण भएकाहरुले पनि १४ दिनभन्दा बढी बस्न पर्दैन । पिसिआर पनि गर्नु पर्दैन । ‘यसका दुईवटा शर्त चाहिँ छन्’, डा. सुवेदीले भने ‘लक्षण भएकाहरुलाई तीन दिनदेखि ज्वरोले छाडेको हुनुपर्छ । लक्षण सुरु भएदेखि १० दिन पूरा भएर ११ औं दिनमा प्रवेश गरेको हुनुपर्छ ।’
उनका अनुसार कसैलाई नौ दिनसम्म ज्वरो आएको हुनसक्छ । त्यस्ता संक्रमितले १२ औं दिनसम्म कुर्नुपर्ने हुन्छ । अक्सिजन कम भएकाहरुलाई भने १४ दिन नै भन्ने गरेको उनले बताए । ‘ पिसिआर र भाइरसको कल्चर समानन्तर रुपमा गर्दा पिसिआर पोजिटिभ आएको र कल्चर नेगेटिभ आएको अध्ययनले देखाएको छ । धेरै मान्छे यस्तो अनावश्यक तनावले पिरोलिएको पाइएको छ’, उनले थपे ‘पिसिआर भनेको भाइरसको आनुवांशिक तत्वको एउटा सानो अंशको मात्रै टेस्ट हो । त्यसैले बारम्बार पिसिआर गर्ने, तनाव लिने लामो समय आइसोलेट हुन जरुरी छैन । यसो गर्दा अरु समस्या आउनसक्छ । जानीजानी तनाव नलिनु राम्रो ।’
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।