कोपा अमेरिका फुटबलः कोलम्बियामाथि पेरुको जीत, भेनेजुयला र इक्वेडरको बराबरी

विराटनगर, (एजेन्सी) । कोपा अमेरिका कपमा कोलम्विया पेरुसँग स्तब्ध बनेको छ । बल पोसेसनमा पकड बनाएपनि आफ्नै गल्तीमा कोलम्विया पेरुसँग २–१ ले स्तब्ध बनेको हो ।

स्टेडियो ओलिम्पिको गोइएस ब्राजिलमा सोमबार बिहान भएको खेलमा कोलम्वियालाई स्तब्ध पार्न पेरुका सर्जियो पेनाले गोल गर्दा एक गोल उपहार पाएको थियो । कोलम्वियाका मिगुइल बोर्जाले गोल गरेपनि हार टार्न सकेन ।

खेलको सुरुवातमै डुभान जापटाको प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गल्लेसेले बचाउँदा कोलम्विया अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा जुआन कोर्डाडोका पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १७औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाए । उनले रिवाउन्डमा आएको प्रहारलाई गोलमा परिणत गरेका थिए ।

लगत्तै १८औं मिनेटमा जोन मेडिनाको हेडरलाई गोलरक्षक पेड्रो गल्लेसेले बचाउँदा कोलम्विया बराबरीबाट चुक्यो । २१औं मिनेटमा यारी मिनाको प्रहार सदुपयोग हुन सकेन । ५२औं मिनेटमा कोलम्वियाले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । गोलरक्षक पेड्रो गल्लेसेले पेनालटी बक्समा मिगुइल बोर्जालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा उनी आँफैले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

६३औं मिनेटमा यारी मिनाले आत्मघाती गोल गरेपछि पेरुले पुनः खेलमा २–१ को अग्रता लिन सफल भयो । गुस्ताभोको कर्नरलाई बचाउने क्रममा यारी मिनालाई लाग्दै बलले पोस्टको दिशा लिदा कीतान तथा गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि गोललाइन क्रस गरेको भन्दै रेफ्रीले गोलको मान्यता दिएको थियो ।

६७औं मिनेटमा मिगुइल बोर्जाको प्रहारलाई डिफेन्डरले ब्लक गर्दा कोलम्विया बराबरीबाट चुक्यो । लगत्तै जुआन कोर्डाडोको पासमा समगुइल बोर्जाको हेडरलाई गोलरक्षक पेड्रो गल्लेसेले विफल पारे ।

यो जितपछि समूह ‘बी’ मा पहिलो जित हात पारेको पेरु दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजितकोलम्विया ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा यतावत रहेको छ । ब्राजिल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । भेनेजुएला २ अंकसहित चौथो स्थानमा रहँदा इक्वेडर १ अंक जोडेर पुछारमा रहेको छ ।
यही समूहको यसअघि भएको खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका थिए ।

सोमबार, ०७ असार, २०७८, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर