विराटनगर । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको मिति पुनः सर्ने भएको छ ।
पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्री सशांक कोइरालाले पार्टी पदाधिकारीको बैठकमा कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।
उनले गरेको प्रस्ताव अनुसार वडा अधिवेशन पनि एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु हुनेछ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए ।
महामन्त्रीको प्रस्तावमा क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने उल्लेख छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।
त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री प्रकाश शरण महतले बताए । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।