बेलबारी । पूर्व उपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरत मोहन अधिकारीको नाममा स्थापित भरतमोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोभिड १९ बाट संक्रमित स्थानीयको स्वास्थ्य उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाई उपलब्ध गराएको हो ।
फाउन्डेसनले पिपि सेट, अक्सिमिटर, बुट, मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । सामग्री बुझ्दै नगर प्रमुख सुवेदीले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् । फाउन्डेसनले यसअघि नै पथरी शनिश्चरे नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, केरावारी गाउँपालिका, मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका, हसनदह कोभिड अस्पताललगायतलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरणमा फाउन्डेसनका सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका सदस्य महेन्द्र आचार्यको सहभागिता रहेको थियो । फाउन्डेसनले उर्लाबारी लेटाङलगायतका पालिकालाई पनि सामग्री हस्तान्तरण गरेको जनाएको छ ।