विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भन्दै भेरोसेल खोप आजदेखि लगाउँदैछ ।
विराटनगर–१२ बखरी स्वास्थ्य चौकीमा भने खोप वितरण केन्द्रमा प्रधानमन्त्री केपी ओली र युवा संघ लेखेको टिसर्ट धारी युवाको खुबै हाउभाउ देखियो । सरकारले दिएको उक्त खोप विराटनगर महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज लगाइरहेको छ । विराटनगरमा उक्त खोप ५ हजार ८४६ डोज आएको छ । आज विराटनगरमा ६२ वर्ष माथिकालाई लक्षित गरेर खोप लगाइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले बताए ।
भोली भने ६० वर्ष माथिकालाई उक्त खोप लगाइने छ । त्यसपछि ४० वर्षदेखि माथिकाको उमेर समूहलाई पालैपालो लगाउने तयारी गरेको कार्कीले जानकारी दिए । आजका लागि भनेर नगरपालिकाले सबै वडामा गरी ३ हजार डोज खोप वितरण गरेको छ । खोपस्थलमा युवासंघका कार्यकर्ताले खोप कार्डमा नाम लेख्ने, परिचयपत्र हेर्ने, मानिस बोलाउने जस्ता काम गरिरहेका छन् । उनीहरुको हाउभाउले खोप लगाएको जस लिने होडबाजी सुरु भएको कतिपयले आँकलन गरेका छन् । विपक्षी दलहरुले भने यस्तो कार्य लज्जास्पद भएको बताएका छन् ।
विराटनगरका प्रत्येक खोप केन्द्रमा ३ देखि ४ जना कर्मचारी खटाइएको छ । तर, सामाजिक दूरीको पालना नगरी युवा दस्ताले आफैं कर्मचारी सरह काम गरेको उक्त केन्द्रमा देखिएको छ ।
तस्बिर : प्रेम देवान/विराटनगर