धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती अन्त्य नभएसम्म धरान नागरिक दबाब सञ्जालले निरन्तर अभियान जारी राख्ने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको विकृति, विसंगति र बेथितीहरुको अन्त्य नभएसम्म अभियान जारी राख्ने जनाएको हो ।
दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले विगतमा पनि वीपी प्रतिष्ठानको समस्याहरुलाई पटक–पटक उठान गरेको स्मरण गर्दै ती विकृति र विसंगतिहरु सुधार भएर सेवाहरु चुस्त हुनुको सट्टा झन् झन् विकृत हुदै गएको बताए । उनले आम जनताको तहबाट उठेका गुनासोहरुको खोजी गर्न, चिरफार गर्न र सेवा चुस्तदुरुस्त बनाउने आफुहरुको अभियानको लक्ष्य रहेको प्रष्ट पारे ।
कमिशनको कारण रिएजेन्ट किटहरु गुणस्तरीय नभएको तथा मेशिनहरु गुणस्तरहिन खरिद गरिएको भन्दै अभियान टोलीले वीपीलाई होचो देखाएर छिमेकी अस्पतालहरुलाई अग्ल्याउने प्रयास आपत्तीजनक रहेको जनाएको छ । मुलुक चलेजसरी नै वीपी प्रतिष्ठान पनि चलेको भन्दै संयोजक शर्माले सुधारको लहरो केन्द्रसम्म गाँसिने बताए ।
तीन चरणको कार्यक्रम गर्ने बताउँदै दबाब सञ्जालले संवाद पहिलो चरण, दोस्रोमा अनुसन्धान र तेस्रोमा कारबाहीसम्म जाने जनाएको छ । पहिलो चरणमा विभिन्न पक्षसँग संवादमार्फत वीपीमा भएका विकृति र विसंगतिहरुको फेहरिस्त संकलन गरेर पदाधिकारीहरुलाई देखाइदिने हुनेछ ।
दोस्रो चरणमा वीपी भित्रैबाट एउटा अनुगमन समिति बनाउन लगाउने र नागरिक समाज वा सिनेटरहरु संलग्न भएको अनुगमन समितिबाट त्यहाँ भएका थप विकृति र विसंगतिहरुको बुँदाहरुलाई अनुसन्धान गरेर निकाल्ने संयोजक शर्माले बताए । तेस्रो कारबाही भनेको कानूनी कारबाहीको कठघरामा उभ्याउने हुनेछ ।