दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्छः आचार्य

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सचिब तथा माधबकुमार नेपाल समूहका नेता भीम आचार्यले पार्टीको समस्या समाधानको लागि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

पार्टी एकता गम्भीर संकटमा परेको र यसले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरु संकटमा परेको भन्दै आचार्यले समस्या समाधानको लागि पहिलो पुस्तका नेताहरु नेतृत्वबाट विदा हुनुपर्ने बताएका हुन् ।

एमाले एकतामा संकट आउँदा राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था आएको भन्दै आचार्यले केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेब गौतम र अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउन सकिने उनको भनाइ छ ।

आचार्यले गत फागुन २३ गतेको अदालतको निर्णयपछि भएका सबैखाले गुटगत निर्णयहरु खारेज गर्नुपर्नेमा जोड दिएका छन् । ममहाधिबेशनले निर्वाचित गरेको केन्द्रिय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रक्रियाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

आचार्यले पार्टीलाई सामुहिक नेतृत्व, नीतिको मार्गदर्शन र बिधिको ब्यबस्था अनुरुप सञ्चालन गर्नुपर्ने बताएका छन् । एमाले एकताको लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आह्वान गरेलगत्तै उनको यस्तो भनाई सार्वजनिक भएको हो ।

सोमबार, २४ जेठ, २०७८, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर