लोड हुँदैछ...

मेनु

कार दुर्घटना प्रकरण

कार दुर्घटनाका घाईते उपचार बेगरै घर फर्काइए

कार दुर्घटनाका घाईते उपचार बेगरै घर फर्काइए

विराटनगर । बिहीबार राती भएको सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका कटहरी–२ का रामकुमार राजवंशीलाई अस्पतालले उपचार नसकिँदै डिस्चार्ज दिएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले राजवंशीलाई अस्पताल भर्ना भएको १८ घण्टामै डिस्चार्ज दिएको हो । एकजनाको ज्यान जानेगरि जेठ २० गते साँझ साढे ७ बजे विराटनगर–४ स्थित एयरपोर्ट लाईनमा भएको कार दुर्घटनामा परि उनी गम्भीर घाईते भएका थिए । सो दुर्घटनामा भारतको कटिहारका ३५ बर्षीय मजदुर मुकेश शर्माको मृत्यु समेत भएको थियो ।

पुर्वबाट पश्चिमतर्फ अनियन्त्रित रुपमा आईरहेको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागी करिब पौने ८ बजे नोबेल अस्पताल भर्ना गरिएको थियो । तर उपचार पुर्ण नहुँदै शुक्रबार अपरान्ह करिब २ बजे अस्पतालले बिरामीलाई डिस्चार्ज दिएको हो । भर्ना भएको १८ घण्टामा अस्पतालले उनको देब्रे हातको खस्किएको कुमको जोर्नी मिलाउने काम मात्र गरेको छ ।

कारको ठक्करबाट गम्भीर घाईते भएका राजवंशीको देबे्र हात, कुमको जोेर्नी, टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । उनी पुर्ण रुप स्वस्थ भईसकेका छैनन् । यतिखेर आफुलाई हिँडडुल गर्न र उठबस गर्न समेत गाह्रो भईरहेको उनले बताएका छन् । 󠇀‘हिँडडुल गर्न र उठबस गर्न त परै जाओस, आरामले सुत्न पनि सक्दिँन’, उनले भने, ‘बोल्दा र श्वास फेर्दा पनि छाती दुख्छ ।’

आर्थिक अवस्था कमजोर रहेका उनको परिवारले हालसम्म उनलाई उपचारका लागि अन्यत्र लग्न सकेको छैन । दुर्घटनामा परेर गम्भीर घाईते भएका व्यक्तिलाई केहीदिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएपनि दुर्घटना गर्ने पक्षको दबाबका कारण अस्पतालले २४ घण्टा निबित्दै बिरामी डिस्चार्ज गरेको घाईतेका दाजू कुशेश राजवंशीले बताएका छन् । उनले घटना ढाकछोप गर्न राजनैतिक दबाबमा सामान्य उपचार गरि बिरामी डिस्चार्ज गर्न लगाईएको आरोप लगाएका छन् । ‘दुर्घटना भएपछि बिहीबार राती स्थानीयले अस्पताल पु¥याईदिएका थिए’, उनले भने, ‘रातभर सामान्य उपचार भयो, राजनितिक दबाबमा अस्पतालले बिरामीलाई छिट्टै डिस्चार्ज दिएको भन्ने खबर छ ।’

यता अस्पतालले भने बिरामीका उपचारमा कुनै कसर बाँकी नछाडेको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. राजेश नेपालले बिरामीको उपचार सम्पन्न भएपछि मात्र डिस्चार्ज दिएको बताए । ‘हामीले अरु अस्पताल जस्तो निको भएको बिरामीलाई पनि बेडमा राखेर पैसा असुल्ने कार्य गर्दैनौ’, उनले भने ।

दुर्घटनाबाट गम्भीर घाईते राजवंशीलाई आफन्तले आईतबार पुनः उपचारका लागी विराटनगर–२ स्थित विराट नर्सिंङ होम लगेका थिए । अस्पतालले दिएको भिडियो भिडियो एक्स–रे रिपोर्ट अनुसार उनको छातीको हड्डीमा क्र्याक देखिएको छ । अस्पतालले बिरामीलाई चाँडै भर्ना गरि थप उपचार गराउन सुझाव दिएको आफन्तले जनाएका छन् । उनीहरुले बिरामीको उपचारका लागी उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

जेठ २० गते बिहीबार भने विराटनगर–५ का २५ बर्षीय रबिन कार्कीले चलाएको कारको ठक्करबाट राजवंशी घाईते भएका थिए भने भारतीय नागरिक मुकेशको उपचारका क्रममा मृत्यू भएको थियो । दुर्घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले घटना भएको ४ दिनपछि आईतबार पक्राउ गरेको छ । उनलाई सोमबार जिल्ला अदालत मोरङमा प्रहरीले सवारी ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds