विर्तामोड । झापा कनकाई नगरपालिका ३ कि ३१ वर्षीय सुधा दर्जी विगत डेढ महिनादेखि हप्तामा दुई पटक भद्रपुरस्थित ओमसाई अस्पतालमा डाइलोसिस गराउँदै आएकी छिन् । उनले कनकाई नगरपालिकाबाट सरकारले सुविधा गराएको निःशुल्क डाइलोसिस गराईदिनु भन्ने पत्र लिएर अस्पताल गइन् । तर अस्पतालले निःशुल्कका लागि पालो पर्खनुपर्ने, पैसा तिरे तत्कालै हुने भन्यो । त्यसपछि आफूहरु हरेक पटकको ८ हजार रुपैयाँ तिरेर डाइलोसिस गराउँदै आएको सुधाका श्रीमान प्रकाश दर्जी बताउँछन् ।
उनले हालसम्म गाउँघरमा आफैं दौडिएर आर्थिक सहयोग संकलन गरेर ४१ हजार रुपैयाँ जम्मा गरे । तर, कनकाई नगरपालिकादेखि भद्रपुरसम्म हरेक पटक आउजाउ गर्दा र डाइलोसिस गरेको ८ हजार तिर्दा उनको सबै पैसा सकिसक्यो । ‘सास रहुन्जेल आश हुन्छ भनेर फेरि रोईकराई ३० हजार रुपैयाँ ऋण मागेर उपचार गराउँदै छौं’, दर्जीले भने, ‘यो पनि सकियो भने मृत्यु कुर्नुको हामीसँग विकल्प छैन ।’
यस्तै कनकाई नगरपालिका १ की ४६ वर्षीय रेणुका दर्जीसमेत सरकारले दुबै मृगौला बिग्रिएर डाइलोसिस गरिरहेकी छिन् । उनलाई पनि सरकारले डाइलोसिस निःशुल्क हुने थाहा पाएकि छन् । तर उनले हरेक पटक ८ हजार तिरेर डाइलोसिस गराइरहेकि छन् ।
निःशुल्कका लागि सबै अस्पताल गएपनि बिना पैसा बेड खाली नभएको बताएपछि बिर्तामोडको मनोमोहन सामुदायिक अस्पतालमा हाल हप्ताको २ पटक डाइलोसिस गराउनुपरेको उनका छोरा प्रकाशले बताए । ‘हालसम्म सरकारबाट हामीले पाएको भनेकै कनकाई नगरपालिकाबाट ८ हजार सहयोग हो,’ उनले भने, ‘बाँकी रकम गाउँघरमै चन्दा संकलन गरेर डाइलोसिस गराउँदै छौ, कहिलेसम्म सकिन्छ गर्ने हो नसकेपछि खै के हुन्छ ।’
उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । दुवै मृगौला बिग्रिएर नियमति डाइलोशिस गर्दै आएका बिरामीलाई यहाँका अस्पतालले सरकारी सुविधामा डाइलोसिस गर्न मान्दैनन् ।
झापामा मेची अञ्चल अस्पताल, भद्रपुरको ओम साई अस्पताल, विर्तामोडको बिर्तासिटी अस्पताल र बिर्तामोडकै मनोमोहन सामुदायिक अस्पतालले विरामीको डाइलोसिस गर्दै आएका छन् ।
बिर्तामोडको मनोमोहनबाहेक अन्य अस्पतालले सरकारबाट निःशुल्क डाइलोसिसको सुविधा लिएर डाइलोसिस गराउँदै आएका छन् । मेची प्रादेशिक अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुरका अनुसार यी अस्पतालहरुले मृगौलाको डाइलोसिका लागि प्रत्येक पटकको २५ सय रुपैयाँ सरकारले उपलब्ध गराउँछ ।
तर सम्बन्धित पालिका र प्रादेशिक अस्पतालबाट सिफारिस बनाएका विरामीहरुलाई ती अस्पतालहरुले आफ्नोमा डाइलोसिसका लागि ठाउँ खाली नभएको भन्दै फिर्ता पठाउने गरेको छन् ।
मेची प्रादेशिक अस्पतालका प्रमुख ठाकुर मनोमोहन सामुदायिक अस्पतालले समेत महगो शुल्क लिन नपाउने बताउँछन् । सामुदायिक भनेपछि महँगो शुल्क लिन मिल्दैन मेची प्रादेशिक अस्पतालमा मेची अञ्चलभरका विरामीको चाप परेको हुनाले पालो पाउन गाह्रो भएको ठाकुरको भनाइ छ । ‘विरामीले हप्तामै ३ पटकसम्म डाइलोसिस गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग सिमीत डाइलोसिस मेशिन छ यसैले समस्या भएको हो ।’
यता विरामीहरु भने निजी अस्पतालमा महँगो शुल्क बुझाउदा डाइलोसिस मेशिन खाली हुने र सरकारी अनुदानको रकममा गराउन खोज्दा खाली छैन भन्ने गरेको बताउँछन् । शुल्क बुझाउन नसक्ने बिरामीले मृत्यु कुर्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।