विराटनगर । निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका मार्फत राहत वितरण गरेको छ ।
सो संस्थाले विराटनगर महानगरपालिका ८ नम्बर वडाका ४७ घर परिवार र १० नम्बर वडाका २६ घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । उक्त राहत सामग्रीमा प्रतिपरिवार २५ किलो चामल, १ किलो मटर, १ किलो चना, १ किलो नुन, १ लिटर सूर्यमुखी तेल, ५०० ग्राम सोयाविन रहेको छ ।
दिगो विकास इन्स्टिच्युटले १० नम्बर वडाध्यक्ष माधव वाग्ले मार्फत राहत वितरणगरेको हो । साथै इन्स्टिच्युटले कोसी अस्पताल विराटनगरको कोरोना शाखामा १ सय थान पिपिइ सेट, ५ सय थान मास्क पनि वितरण गरेको इन्सिच्यूटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले बताए । उक्त स्वास्थ्य सामाग्री विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । यस्तै सो संस्थाले विराटनगर महानगरपालिकालाई ५० थान पिपिइ सेट, ५ सय थान मास्क पनि हस्तान्तरण गरेको जनाएको छ ।