कानेपोखरी । आज शनिबार विश्व वातावरण दिवस, ‘प्राकृतिक पुनः स्थापना’ भन्ने मुल नाराका साथ मनाइयो । कोभिड १९ का कारण विगतमा झैँ तामझामका साथ कार्यक्रम नभएपनि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरेको छ ।
स्थानीयस्तरमा कुनैपनी कार्यक्रम सञ्चालन नभएको बेला मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो जेसिजले आफ्नो लामो समयदेखिको परम्परालाई कायमै राख्दै आज शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। भौतिक दुरि कायम गर्दै जेसिजले कानेपोखरी वार्ड नं. २ कार्यालय परिसरमा अशोक, धुपी लगायतका बिरुवा रोप्दै यस दिवसलाई मनाएको हो।
सो कार्यक्रम बोल्दै जेसिजका अध्यक्ष भानु फुयलले वातावरण र मानिस बिच हाड र छालाको जस्तै सम्बन्ध रहेको भन्दै वातावरण नहुने हो, भने मानव जातिको अस्तित्व नरहने भएको कारया वनजङ्गल संरक्षण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, महासचिव बिवेक लिम्बूले मानव जातीकै कारण दिनदिनै वातावरणमा ह्रास आउन थालेको र अब संरक्षणका लागि विश्वभरका मानिस एक भएर जुट्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
सो कार्यक्रमको संयोजन अनिल कार्कीले र संचालन महासचिव बिवेक लिम्बूले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथ्यता वार्ड नं. २ का अध्यक्ष सुशील बुढाथोकी रहेका थिए । कार्यक्रममा समाजसेवी छत्र निरौला, संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिना, जेसिजका पदाधिकारीलगायत थिए ।