विराटनगर । तराईका २२ जिल्ला टुक्र्याएर नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर यसअघि मन्त्री पदबाट बर्खास्त भएका जसपाका नेता शरदसिंह भण्डारी ओली सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।
पछिल्लो समय नेपालीको चाहना विपरीत ओली सरकार टिकाउन भारतले भूमिका खेलिरहेको आरोप खेपेको वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले त्यस्तै छवि बनाएका नेतालाई मन्त्री नियुक्तिको तयारी गरेपछि सो आरोपलाई थप बल पुगेको छ ।
२०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा भण्डारी रक्षामन्त्री बनेका थिए। त्यसबेलै उनले २२ जिल्ला टुक्र्याउने विवादित अभिव्यक्ति दिएका थिए । ‘राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियोरु तर जनताले रुचाएनन् र फालिदिए,’ २०६८ असोज ९ मा आयोजित एउटा कार्यक्रममा उनले भनेका थिए, ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन। मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन्। २२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरी राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ।’
भण्डारीको त्यही विवादित भनाइका कारण फोरम लोकतान्त्रिकको बैठकले भण्डारीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसबेला प्रतिपक्षी दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले मात्रै नभएर सत्तारुढ माओवादीभित्र पनि यो कुरा जोडतोडका साथ उठेको थियो ।
त्यसपछि तत्कालिन प्रधानमन्त्री भट्टराईले कात्तिक २ मा व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री भण्डारीलाई पदमुक्त गरेको जानकारी गराएका थिए।
उनै भण्डारीलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका तर्फबाट मन्त्री बनाउन लागेका हुन् । राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि हुन लागेको हो । महतोसहित जसपाका १० जना मन्त्री बन्ने भएका हुन् । उनीहरुको आजै राष्ट्रपति निवासमा शपथग्रहण हुने बताइएको छ ।