विराटनगर । दोस्रो लहरको कोरोना समुदायमै फैलिसकेको भन्दै विराटनगर महानगरपालिकाले त्यसलाई रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमै एन्टिजेन परीक्षण गराउने भएको छ ।
महानगरपालिकाले एक सूचना मार्फत आगामि ३० गतेसम्ममा प्रत्येक वडामा एन्टिजेन परीक्षण गर्ने तालिकासमेत सार्वजनिक गरेको छ । ‘विश्व महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड १९) यस महानगरपालिकाको समुदायस्तरमा समेत फैलिसकेको हुनाले समयमा नै संक्रमित पहिचान गरी सम्भावत जोखिम रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि संक्रमितहरुलाई आइसोलेसनमा राख्नुको साथै शुरुकै अवस्थामा उपचारमा ल्याउन आवश्यक भएको हुनाले समयामा नै कोभिड १९ को परीक्षण गरी यो रोग नियन्त्रण गर्नको लागि सबै आम जनसमुदाय तथा सरोकारवालाहरुलाई अनुरोध छ,’ नगरपालिकाका तर्फबाट कोभिड संयोजक हैदर अलीद्वारा जारी सूचनामा भनिएको छ ।
सूचना अनुसार आज १८ नम्बर वडामा एन्टिजेन परीक्षण गरिएको छ । यस्तै वडा नम्बर १९ र १७ मा २३ गते, वडा नम्बर १ र १६ मा २४ गते, वडा नम्बर २ र १४ मा २५ गते, वडा नम्बर ३ र १३ मा २६ गते, वडा नम्बर ४ र १२ मा २७ गते, वडा नम्बर ५ र ११ मा २८ गते, वडा नम्बर ६ र १० मा २९ गते र वडा नम्बर ८ र ९ मा ३० गते एन्टिजेन परीक्षणको तालिका तोकिएको छ ।
परीक्षण बिहान ११ बजेदेखि संचालन हुने बताउँदै सम्बन्धीत वडाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा केश इन्भेष्टिगेसन तथा कन्ट्र्याक टे«सिङ फेकल पर्सन रश्मी निरौला र प्रवेशिका गुप्तालाई सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले विराटनगर महानगरपालिका १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानी र विराटनगर महानगरपालिका ९ स्थित आदर्श स्कुल साइन्स ब्लकमा र जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग र गर्भवती महिलाहरुका लागि मोबाईल स्वाब भने नियमित रुपमा दैनिक ११ बजेदेखि संचालन हुने पनि जनाएको छ ।