पाँचथर । पाँचथरको फिदिममा कोरोना भाइरसको संक्रमित भएका विरामीलाई देखिनेजस्तै लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ ।
कोरोनाको जस्तै लक्षण देखिएका फिदिम नगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको हो ।
रानिटारस्थित घुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए । दुबै जना मृतकमा कोरोनाको जस्तै लक्षण देखिएको भएपनि परीक्षण भएको थिएन ।
उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी रहेको वडाध्यक्ष नेम्बाङले जानकारी दिएका छन् । उनीहरुमा ज्वारो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ । घुमाउनेटारका वृद्धको घरमै र कागेतका पुरुषलाई उपचारका लागि समर्पित अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो ।
पछिल्लो दिनमा पाँचथरका गाउँगाउँमा कोरोनासँग मिल्दो लक्षणहित धेरैजना विरामी छन् । तर, उनीहरुको परीक्षण भएको छैन ।